एकमहिना अघि सुरु भएको स्वस्थानी व्रत आज समापन हुँदै

404
Friendship Mobile

सर्लाही | पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदै छ ।

पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले बुधबार व्रत समापन गर्दैछन् ।

पौष शुक्ल पुर्णिमादेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम पनि बुधबार पूराहुन्छ ।

एक महिने व्रत गरेकाहरुले माघ शुक्ल पुर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल , १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने गर्दछन् ।

आज माघ शुक्ल पुर्णिमा : स्वस्थानी व्रत समापन हुँदै

चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रतको विधि छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ

बुधबार मध्याह्नकालपछि विधिपूर्वक पूजालगाई व्रत समापनगरि रातीमा जागराम बसी बिहिबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।