विभिन्न देशमा नेपाली कफीको माग बढ्दै

95
Friendship Mobile

दोलखा : दोलखा जिल्लामा उत्पादन भएको कफी विभिन्न देशमा निर्यात हुन थालेको छ। यहाँ उत्पादित कफी हाल इटाली, फ्रान्स लगायतका देशमा निर्यात हुन थालेको हो। दोलखाको कालिञ्चोक-८ सुनखानीमा रहेको नीलकमल कृषि सहकारीले स्थानीय स्तरमा उत्पादन भएको कफी संकलन गर्दै आएको छ। 

कफी बजार व्यवस्थापनका लागि द फेस्को हिमालयन कम्पनी काठमाडौंसँग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी इटाली र फान्स लगायतका देशमा निर्यात सुरु भएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताए।  

गत वर्ष सहकारीले गाउँमा उत्पादित कफी खरिद गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो। यो वर्ष धेरै उत्पादन वृद्धि भएकाले सहकारीका सदस्यहरूको आयआर्जनमा सहयोग गर्न सम्झौता गरेको उनको भनाइ छ। 

संस्थाका शेयर सदस्यहरूले उत्पादन गरेको साढे दुई क्विन्टल कफी सहकारीले प्रति केजी पाँच सय रुपैयाँमा खरिद गरी फेस्कोलाई प्रति केजी ५७५ का दरले १ लाख ४३ हजारको कफी बिक्री गरेको छ। 

कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीले यस वर्ष  सहकारीका १७ सय  सेयर सदस्यमध्ये कफी उत्पादन गर्दै आएका सदस्यलाई छनौट गरी ५१ जना कृषकलाई कफी सम्बन्धी तालिम प्रदान गरेको छ। तालिम प्रदान गरी ६ हजार कफीका बिरुवा वितरण गरेको सहकारीका अध्यक्ष कल्पना खरेलले बताइन्।