निजगढको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

57
Friendship Mobile

बारा । बाराको निजगढस्थित एक वर्कसपमा हिजो भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

निजगढ-७ सहिद चोकमा रहेको रोहित वर्कसपमा हिजो दिउँसो विस्फोट हुँदा घाइते भएका वीरगञ्जका रितु रजतको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । घाइते रजतलाई उपचारका लागि हिजै वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो । हिजै वर्कसप सञ्चालक रेशम मगरको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो भने अर्का घाइते भारतीय नागरिक राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको थियो । 

वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा विस्फोट भएको प्रहरीको भनाइ छ । घटनामा घाइते एक जनाको उपचार भइरहेको र एक जना भने उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।