राप्रपाबाहेक सबै दल एउटै हुन् : राजेन्द्र लिङ्देन

106
Friendship Mobile

 राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमाले-माओवादी र नयाँ सबै दल एउटै भएको बताएका छन्।

बझाङको सदरमुकाम चैनपुरमा शुक्रबार भएको प्रदेश सभा उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘कतिपय मान्छेहरूले एमाले, कांग्रेस, माओवादीसँग चित्त नबुझेर नयाँ पार्टीमा लागेको देखेको छु। तर, एमाले, कांग्रेस र माओवादी पार्टीको विकल्प स्वतन्त्र पार्टी होइन, यिनीहरू सबै एकै पार्टी हुन्।’

उनले पार्टीका नाम, चिह्न र नेता अलग भए पनि विचार र व्यवहारमा सबै पार्टी एउटै भएको बताए। उनले देशको मूल समस्याका रूपमा रहेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली र भ्रष्ट व्यवस्थाको सबै पार्टीले स्वीकार गरेको बताए। उनले अहिलेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली र भ्रष्ट व्यवस्थाको सबैको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै रहेको बताए।

उनले व्यवस्था र अवस्था परिर्वतनका लागि वैशाख १५ गते हुने उपनिर्वाचनमा हलो चिह्नमा मतदान गर्नसमेत सबैमा अपील गरे। त्यस्तै उनले चुनावमा भोट दिने कुरा बिहेमा छोरी दिनेभन्दा पनि महत्वपूर्ण कुरा भएको बताए। अध्यक्ष लिङ्देनले चुनावमा दिइने मतले जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताए।

तपाईँले अनेक विचार गरेर दिएको छोरी पनि कहिलेकाहीँ गलत मान्छेको हातमा पर्छ। छोरी गलत मान्छेको हातमा परेपनि त्यही एउटा छोरीले मात्र दुःख पाउँछ। तर, तपाईँले दिएको एउटा भोट पूरै समाज र देशले दुख पाउने भएकाले भोट दिनुअघि हजार पटक सोचेर भोट दिनुस् भनेर आग्रह गरेका छन् ।