लालबन्दी, ७ असार । सर्लाहीका पत्रकारको क्षमता अभिवृद्धिका लागी संचालित ३ दिने कार्यक्रम आज सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको कार्यक्रम आज सहभागीलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार उज्वल चौलागाईंले प्रशिक्षण प्रदान गर्नुभएको थियो । जिल्लाका सक्रिय पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले मल्टिमिडिया ट्रेनिङको आयोजना गरिएको पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले बताउनुभयो ।

तालिममा प्रमुख प्रशिक्षक झाले पछिल्लो समय पत्रकारितामा मौलाएको विकृति, पत्रकारिताको धर्म र सिद्धान्त, भाषा, शैलि र शब्द चयन लगाएतको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै पत्रकारितालाई प्रविधिमैत्री बनाउँदै लैजानका निम्ति मोबाईलको प्रयोगका सम्बन्धमा अर्का प्रशिक्षक चौलागाईंले प्रशिक्षण प्रदान गर्नुभएको महासंघले जनाएको छ ।
समापन कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईंटेल लगाएत महासंघ सर्लाहीका पूर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।








