‘सरले नपढाएको’ भन्दै विद्यार्थीले मागे क्षतिपुर्ति
लालबन्दी, १५ चैत । सर्लाहीको लालबन्दी ९ मा रहेको जनज्योती माविका विद्यार्थीहरुले नगरपालिकासँग क्षतिपुर्तिको माग गरेका छन । विद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुको ४ वर्ष बिना सिकाई खेर गएको भन्दै क्षतिपुर्ति उपलब्ध गराईदिन माग गरेका हुन ।
विद्यार्थीहरुले लालबन्दी नगरपालिकाको शिक्षा शाखालाई निवेदन लेख्दै आफुहरुले करिकुलम अनुसारको सिप सिक्न नपाएको, थेउरी मात्रै पढाउँदा प्रयोगात्मक सिप विकाश नभएको भन्दै उचित क्षतिपुर्तिको माग गरेका हुन । १८ जना विद्यार्थीको हस्ताक्षरसहित शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटिलाई बुझाईको निवेदनमा सतिष यादव सरले आफुहरुको भविष्यसँग खेलबाड गरेको आरोप लगाईएको छ ।
विद्यार्थीले शिक्षा शाखा प्रमुख सिवाकोटिसँग सरसँग पटक पटक यो विषयमा कुरा राख्दा फेल गराईदिन्छु भनेर धम्क्याउने गरेको गुनासो गरेका थिए । उनिहरुले निवेदनमार्फत सतिष सरलाई आफुहरुको भविष्य अध्यारो बनाउने अधिकार कस्ले दिएको भन्दै उचित छानबिन गरि न्याय दिन अनुरोध गरेका छन ।

विद्यार्थीहरुको निवेदन पाएपछि शिक्षा शाखाले पनि ३ दिन भित्र छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलको नाममा पत्र लेख्दै शाखाले ३ दिन भित्र आवश्यक छानविन गरि प्रतिवेदन पेश गर्न भनिएको शिक्षा शाखा प्रमुख सिवाकोटीले जानकारी दिईन । पत्रको बोधार्थमा वडा ९ को कार्यालयलाई राखिएको छ ।
यो विषयमा बुझ्दा वडाध्यक्ष नारायण अधिकारीले वडामा पत्र आएको खबर आफुलाई सचिवले गराएको तर विषय बुझ्न नपाएको प्रतिकृया दिए । यस अघि विद्यालयमा त्यस्तो कुनै समस्या रहेको बारेमा आफुलाई थाहा नभएको समेत वडाध्यक्ष अधिकारीले बताए ।
विद्यार्थीद्वारा आरोपित शिक्षक सतिष कुमार यादवसँग बुझ्दा आफु र विद्यार्थीबिच कुनै समस्या नरहेको बताए । उनले आफुले एकदम ईमान्दारीताका साथ पढाएको, प्रयोगात्मक कक्षा पनि गराएको र कोर्ष पनि पुरा भएको प्रतिकृया दिए । उनले आफ्नो बारेमा अन्य शिक्षक र कक्षा ११ का विद्यार्थीसँग बुझ्न आग्रह गर्दै १२ का केहि पढाईमा ध्यान नदिने विद्यार्थीहरुले उक्साएर नगरपालिकामा निवेदन दिएको हुनसक्ने आशंका गरे ।
विद्यार्थीहरुको गुनासोका सम्बन्धमा प्रधानाध्यापक पोखरेलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।