सर्लाही, १९ जेठ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ। शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो ।
भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन् ।
उनले आजसम्म पार्टी अध्यक्ष अथवा गृहमन्त्रीको रूपमा विदेश यात्रा गरेका छैनन्। तर, अहिले भने पहिलोपटक विदेशी दलका नेताका रूपमा लामिछानेसँग भेट गरेका हुन् ।
भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिएका थिए। साथै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे। भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीलगायतका विभिन्न उपहार दिएका थिए। यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेट गरेका थिए ।
सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।








