नवरात्रको सातौं दिन, आज फूलपाती

223
Friendship Mobile

कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दशै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् ।

आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्र्याएर फुलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । विगतमा आफूभन्दा मान्यजनका घरघरमा गएर टीका, जमरा र आशीर्वाद लिने गरिए पनि यसपालि कोरोना संक्रमणको खतराका कारण सावधानी अपनाएर मनाउन सरकारसँगै संस्कृतिविद्ले पनि सुझाव दिइरहेका छन् ।

विभिन्न नौ देवीको पूजाअर्चनापश्चात् दशमीका दिन जमरा निकालिन्छ भने जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । कोभिड–१९ का कारण टीकाटालो गर्न र ज्येष्ठ नागरिककहाँ गएर आशीर्वाद लिने कार्यक्रम प्रभावित हुने देखिएको छ । सरकारले ज्येष्ठ नागरिकलाई जोखिमको सूचीमा राखेको छ ।

महाअष्टमी
बडादसैंको आठौँ दिन शनिबार दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरी महाअष्टमी मनाइन्छ । यस दिन दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिँदै छ ।

यसैगरी फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू यस दिन जमराकोठामा घिरौला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दसैंघरमा मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ गरिए पनि ५४ राँगा र ५४ बोकाको बलि भने नदिइने भएको छ ।

महानवमी
बडादसैंको नवौं दिन महानवमीमा दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरिँदै छ । यसअघि अघिल्लो दिन महाअष्टमीमा पनि भवानीलाई बलिसहित पूजा गरिएको थियो । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ ।

दसैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कतिपय शक्तिपीठमा भने नवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।