क्लिन फिडपछि ग्राहकले तिर्नुपर्ने शुल्क बढ्ने

302
Friendship Mobile

विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भएको एक हप्ता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउनुभयो । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उहाँको भनाई छ ।

सरकारले आधारभुत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविष्यमा नै बढ्ने अध्यक्ष शर्माले बताउनुभयो । आधारभूत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उहाँको भनाई छ ।  

क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् ।

तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ ।