आज कुकुर तिहार, लक्ष्मि पुजा पनी आजै

327
Friendship Mobile

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।

कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । भोली आइतबार बिहान आंैसी तिथि भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय छ ।

शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतम बताउँछन् । कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ ।

कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ । सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा छ ।

आज साँझ बाट भैलो पनि खेल्ने परम्परा छ तर यसपटक कोभिड १९ का कारण देउसी भैलो प्रभावित हुने भएको छ ।