रौतहटमा ब्यक्तिले उपभोग गर्दै आएका १२२ बिगाहा सरकारी जग्गा सरकारको नाममा ल्याईयो फिर्ता

731
Friendship Mobile

सरकारी जग्गा कब्जा गरी व्यक्तिको नाममा पुर्जा बनाइएको १२२ विगाहा जग्गाको साढे पाँच बर्ष पश्चात श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी गरिएको विज्ञप्तीमा राष्ट्रिय वन क्षेत्रको १२२ विगाहा जग्गा केही भुमाफियाहरुले षड्यन्त्रपूर्वक कित्ताकाट गराई विभिन्न व्यक्तिको नाममा श्रेष्ता खडा गरेर पारित गराएको भन्दै बिभिन्न सञ्चारमाध्यबाट समाचार प्रकाशित प्रशारित भएका थिए । उक्त समाचारको तथ्य पत्ता लगाउने क्रममा राष्ट्रिय वनको जग्गा मास्न ठूलो गिरोह संलग्न रहेको पाईएपछि आवश्यक काम कारवाहीको प्रक्रिया पुरा गर्दै मालपोत कार्यालय चन्द्रपुरले व्यक्तिको नाममा रहेको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम कायम गरेको हो ।

हालको गुजारा नगरपालिका, साविक रंगपुर गाविस अन्तर्गत पर्ने राष्ट्रिय वनको १२२ विगहा सार्वजनिक जग्गा २६ जना व्यक्तिको नाममा दर्ता रहेको भेटिए पछि २०७६ पुस ७ गते उक्त जग्गाको लगत कट्टा गरेर डिभिजन कार्यालय चन्द्रपुरले मालपोत कार्यालयमा सक्कल पत्र सहितको पठाएको थियो । विभिन्न प्रक्रियागत हिसावको कारण लामो समय सम्म उक्त जग्गा नेपाल सरकारको नाममा कायम हुन नसकेको अवस्थामा यहि कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, डिभिजन वन कार्यालयको संयुक्त वैठकबाट अतिक्रमित जग्गाको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएपछि उक्त व्यक्तिको नाममा दर्ता भएको जग्गाको श्रेष्ता बदर गरी नेपाल सरकारको नाममा कायम गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

१२२ विगाहा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा श्रेष्ता पारित भएपनि अझै व्यक्तिले भोगचलन गर्दै आइरहेका छन ।

सार्वजनिक जग्गा खाली गराई राष्ट्रिय वनको जिम्मेवारीमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खाली गराउने समेत निर्णय भएको हुँदा यथाशिघ्र उक्त जग्गा विना बाधा अडचनको खाली गरिदिन प्रजिअ यादवले आग्रह समेत गर्नु भएको छ ।