आजबाट छठ पर्व सुरु, आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि गर्ने

294
Friendship Mobile

आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ ।

सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि ब्रतालुले एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको शुरु गरिसकेका छन् । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ ।