छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

294
Friendship Mobile

 जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ।

१४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो।

उनी आठ महिनाअघि पक्राउ परेका थिए। छोरीलाई बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि ३० चैतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

मकवानपुरकै ती पुरुषले आफ्नी पत्नीले आत्महत्या गरेपछि छोरीलाई बलात्कार गर्न थालेका अनुसन्धानबाट खुलेको छ। उनले चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका थिए।

नयाँ मुलुकी संहिता अनुसार जबर्जस्ती करणीमा १२ वर्ष र हाडनाता करणीमा २५ वर्ष गरी उनलाई ३७ वर्ष कैद सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।