टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि सिआइबीले थाल्यो अम्लेखगञ्ज डिपोमा अनुसन्धान

304
Friendship Mobile

आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अम्लेखगञ्ज डिपोमा अनुसन्धान सुरु गरेको छ ।

पेट्रोलियम पदार्थमा हुने मिसावट र चुहावट रोक्न निगमले दुई वर्षअघि टयांकरमा लकिङ प्रणाली जडान गरेको हो । तर, चालक र सहचालकले विभिन्न उपाय अपनाएर पेट्रोलियम पदार्थ चोरी गर्न थालेपछि लकिङ प्रणालीको प्रभावकारितामाथि नै प्रश्न उठेको हो । सिआइबीले मंगलबार प्रादेशिक डिपो अम्लेखगञ्जका पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरुको लकिङ र फिटिङ चेकजाँच गरेको प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख भरत रेग्मीले बताए ।

भारतको बरौनीबाट २० हजार लिटर डिजल÷पेट्रोल लोड गरिएको टयांकरबाट अम्लेखगञ्जमा अपलोड (खन्याउँदा) १०० देखि सवा सय लिटरसम्म कम हुने गरेको प्रमुख रेग्मीले बताए । सामान्यता अम्लेखगञ्जको तुलनामा बरौनीको तापक्रम बढी भए पनि प्रतिटयांकर सयदेखि सवा सय लिटरसम्म पेट्रोलियम पदार्थ घट्नु सामान्य नभएको उनको भनाइ छ ।

दुई साताअघि काठमाडौंको थानकोट डिपोमा चालक र सहचालकको मिलेमतोमा टयांकरभित्र अर्को छुट्टै फल्ट बटम जडान गरेर पेट्रोल चोरी गरेकोे घटना सार्वजनिक भएपछि सिआइबीको टोलीले अम्लेखगञ्जमा पनि चेकजाँच गरेको हो । लकिङ प्रणाली अन्तर्गत बन्द टयांकरको चाबी बरुणी र अम्लेखगञ्ज डिपोसँग मात्रै हुने गर्दछ । चाबी डिजल/पेट्रोल लोड वा अपलोड हुँदा मात्रै सम्बन्धित नियकाले खोल्ने गर्दछ । सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले पेट्रोलियम पदार्थको चोरीको अवस्था भयावह रहेकाले सिआइबीले गम्भीर रुपमा अनुसन्धान गर्ने बताएका छन् ।

थानकोट डिपोमा दुईवटा टयांकरमा फल्ट बटम प्रयोग गरेर पेट्रोलियम पदार्थको चोरीको घटना भएपछि सिआइबीले देशैभरका निगम डिपोहरुमा अनुसन्धान सुरु गरेको उनले बताए ।