गौरमा घन्कियो ‘केपी ओली मुर्दावाद, केपी तेरो पाराले दु:ख पायो साराले’

405
Friendship Mobile

नेपाली कांग्रेसले सोमबार रौतहट सहित देशभर प्रदर्शन गरेको छ । लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि नबढेको, अधिनायकबादी एवं जनविरोधी कृयाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकासिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको लगायतका सरकारको क्रियाकलापको बिरोधमा कांग्रेसले बृहत रुपमा बिरोध गरेको हो ।

नेकपा सरकारको विरोधमा नेपाली काँग्रेस रौतहटले पनि सदरमुकाम गौरमा बृहत विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस रौतहटका अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल क्षेत्रबाट प्ले कार्ड, झण्डा सहित निस्किएका सयौं कांग्रेस नेता कार्यकर्ताले केपी शर्मा ओलीको कम्युनिष्ट सरकारले मुलुकमा पुन: अधिनायकवाद ल्याउने षड्यन्त्र गरेको भन्दै चर्को नाराबाजी गरेका थिए ।

बिरोध र्‍याली गौर नगर परिक्रमा पश्चात पुन: राइस मिलको ऐतिहासिक मैदानमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेकपाको सरकारले जनताको इच्छा आकांक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाई संरक्षण दिएको, मुलुकमा पुन: अधिनायकबादलाई बढावा दिने कार्य मात्रै गरेको भन्दै त्यस्तो भ्रष्ट एवं अधिनायकवादको नियती भएको सरकारलाई हटाउनु बाहेकको बिकल्प नभएको जिकिर गर्नुभयो ।

विरोध सभालाई सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर ४ का संघिय सांसद एवं नेपाली काग्रेसका युवा नेता देव प्रसाद तिमल्सिनाले कोभिडको नाममा नेकपा सरकारले अर्बौं रकम भ्रष्टाचार गरेको आरोप लगाउनु भयो । बेरोजगारीको बोझबाट आक्रान्त रहेका नेपाली जनताले ओली सरकारबाट मुक्ति चाहिरहेको बेला नेपाली कांग्रेस जनताको पक्षमा उभिएको र जनविरोधी निकम्मा सरकारलाई ढाली जनताको शासन व्यवस्था चलाउने तर्फ अग्रसर रहेको कांग्रेसका अर्का लोकप्रिय युवा नेता एवं संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को भनाई थियो ।

विरोध र्‍यालीमा नेपाली कांग्रेस जिन्दावाद, केपी ओली मुर्दावाद, केपी तेरो पाराले दुख पायो साराले लगाएतका चर्को नारा लगाईएको थियो ।