क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न जिल्ला समन्वय समितिको निजगढ नगरपालिकालाई निर्देशन

304
Friendship Mobile

जिल्ला समन्वय समिति बाराले निजगढका क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न स्थानीय तह निजगढ नगरपालिकालाई निर्देशन दिएको छ।

निजगढ, कोल्हवी भएर बग्ने बकैया र धन्सार खोलामा जुनसुकै ढङ्गले भइरहेको उत्खनन, सङ्कलन कार्यलाई तत्कालै बन्द गर्ने निर्णय गरी उक्त निर्देशन दिएको जनाइएको छ। अनुगमनका क्रममा ठेक्का नलागेका खोलाबगरहरूमा समेत जथाभावी नदीजन्य पदार्थको उत्खनन, दोहन भइरहेको पाइएकोले सो निर्देशन दिएको जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले बताएका छन्।

खोलामा मानिसले समेत ८/१० फिटभन्दा गहिरो खाडल खन्दै नदीजन्य पदार्थ झिक्ने गरेको पाइएपछि सो कार्य तत्कालै बन्द गर्न सम्बन्धित नगरपालिकालाई निर्देशन दिएका हौं, उनले भने। निजगढमा रहेका क्रसर उद्योगहरूका नदीजन्य पदार्थ रोडा, गिट्टी, बालुवाको मौज्दाद, सङ्कलन प्रक्रियासहित आवश्यक कागजात जिल्ला समन्वय समितिमा पेश गर्न स्थानीय तह निजगढ नगरपालिकालाई जानकारी दिइसकेको र सो सम्बन्धमा अर्को निर्णय नहुन्जेलसम्मका लागि क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएको संयोजक सिंहले जानकारी दिएका छन्।

यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि २ किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक संस्थादेखि १ किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुमगन समितिले मापदण्ड निर्धारण गरेको थियो। म्याद सकिए पनि करीब ३ वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहेको र पछिल्लोपटक म्याद थप नहुँदा पनि क्रसर उद्योग निर्बाध चल्दै आइरहेका छन्।

क्रसर उद्योग वर्षौंदेखि नवीकरण नभए पनि आन्तरिक राजस्व कार्यालयले राजस्व बुझ्ने, विद्युत् सेवा उपलब्ध गराइरहने जस्ता उद्योगका लागि आवश्यक सेवा कटौती नगर्ने, उद्योग सञ्चालन गर्न विकल्प पनि नदिने अनि नवीकरण पनि नगर्ने दोहोरो नीतिका कारण बेला बेलामा क्रसर उद्योगको नाम जोडेर सरकारप्रति स्थानीय नागरिकले आपत्ति प्रकट गर्ने गरेका छन्। त्यस बेला हामीले सबै प्रक्रिया पूरा गरी इजाजत लिई उद्योग चलाएका हौं। जसबाट सरकारलाई राजस्व बुझाइरहेका छौं क्रसर सञ्चालकहरू भन्छन्। त्यसपछि सरकारले मापदण्ड निर्धारण गर्यो। हामी यस अघि वा पछि जहिल्यै पनि उद्योग स्थानान्तरण गर्न तयार छौं।

तर त्यसका लागि सरकारले सडक, विद्युत्, खानीलगायतका उचित व्यवस्थापनसहितको स्थान उपलब्ध गराउन देशभरका क्रसर व्यवसायीहरूले माग गर्दै आइरहे पनि अहिलेसम्म उपलब्ध गराइएको छैन क्रसर सञ्चालकहरूको भनाइ छ। अहिले स्थानीय तहका सरकारलाई समेत हामीले उचित स्थान उपलब्ध गराउन निवेदन दिइसकेका छौं निजगढका क्रसर व्यवसायीहरूले भने।

यता निजगढ नगरपालिकाले औद्योगिक ग्रामको स्थान निश्चित गरी सो उद्योगहरूलाई सार्ने जनाउँदै आएको छ।