बकैया पुलको खोला किनारको तटबन्धमा जाली भर्न तस्करीको ढुङ्गा

325
Friendship Mobile

दिपेन्द्र जयसवाल/बारा : निजगढ बकैया पुलको दक्षिणतर्फको खोला किनारको तटबन्धमा जाली भर्न चोरी, तस्करी गरी ल्याइएका ढुङ्गा लोड ट्याक्टरसहित चालकमाथि डिभिजन वन कार्यालय सिमराले म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

बाराको निजगढ नगरपालिका भरतगंजसिगौलको बगर र धन्सार खोलाबाट चोरी, तस्करी गरी ल्याइएको ढुङ्गा राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको तटबन्धको तारजालीमा प्रयोग गर्न ल्याइरहेको अवस्थामा तटबन्ध स्थल नजिकै ट्याक्टर र सोका चालकहरू चार दिनअघि पक्राउ परेका थिए। खानी भुवनेश्वरी जोशी जेभीले तटबन्ध गर्न ठेक्का सकार गरेर अवैध ढुङ्गा प्रयोग गरिरहेको छ। तटबन्ध गर्न तारजालीमा ढुङ्गा भर्न ४० हजार ८५ घनमिटर ढुङ्गा लाग्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ।

एक साताअघि निजगढमा अवैध ढुङ्गासहित पक्राउ परेको एकवटा टिपर र चालकमाथि पनि म्याद थप गरी अनुसन्धान शुरू भएको डिभिजन वन कार्यालय सिमराले जनाएको छ। स्थानीय तहले कडाइ नगर्दा निजगढमा नदीजन्य पदार्थ ढुङ्गा चोरी, तस्करीका घटना बढिरहेको छ। निजगढ नगरपालिका वडा नं. ४ मा रहेको मोहोरी बागदेव, निजगढ नगरपालिका वडा नं.१० मा रहेको भालुखोला, लालखोला, भमरा, बुङ्जोर खोला, बगर खोला, धन्सार खोला र चुरे पहाड फेदका ढुङ्गासमेतको चोरी, तस्करी भइरहेको छ।

मोहोरीस्थित नेपाली सेनाले निर्माण गरिदिएको बेलीब्रिज पार गर्दै चुरेको झोलुङ्गे पुल आसपासको बकैया खोलाबाट दिनदहाडै ढुङ्गा, चोरी तस्करी हुदा पनि नेपाली सेना, सशस्त्र प्रहरी अस्थायी बेस लाल समेत मौन छन्।

आफूहरूले भ्याएसम्म कडाइ गरेको र बेलाबखत नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाइदिएको त्यहाँका सेना र सशस्त्र प्रहरीले बताउने गरे पनि ढुङ्गा तस्करको मनोबल घटेको छैन। यसतर्फ सम्बन्धित वडा कार्यालयले चासो नराख्दा पनि तस्करहरूको मनोबल बढेको छ।