आज क्रिश्चियन धर्मालम्बीहरूको पर्व क्रिसमस डे

383
Friendship Mobile

कोरोना माहामारिका बिच नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले शुक्रवार (आज) क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।

नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ ।

यस बर्ष बिश्वभरि नै कोरोना माहामारिका कारण बिभिन्न चाडपर्वहरुमा सावधानी अपनाउन आग्रह गरिएको छ ।