निजगढमा सुबिधासम्पन्न आँखा अस्पताल बन्ने

263
Friendship Mobile

बाराको निजगढमा निर्माण हुने आँखा अस्पतालको बिषयमा बिहिवार त्रिपक्षिय छलफल गरिएको छ ।

तिलगंगा आँखा अस्पतालको सहयोगमा निर्माण हुने आँखा अस्पतालकालागि लगानी जुटाउने एलिना भिजन, समन्वयकर्ता तिलगंगा आखा अस्पताल र निजगढ नगरपालिकाबीच छलफल भएको हो । अस्पताल निर्माण र व्यवस्थापनको धारणा सम्बन्धमा छलफल भएको निजगढका मेयर सुरेश कुमार खनालले बताए ।

तिलगंगाले निजगढमा अस्पताल निर्माण गराउन २०७५ कार्तिक ९ गते निजगढ नगरपालिकासंग सम्झौता गरेको थियो । तेतिबेला आँखा अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख सुरेस कुमार खनाल र अस्पतालको तर्फबाट नेपाल आखा कार्यक्रम तिलगंगा आखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । निजगढ नगरपालिकाले आँखा अस्पताल निर्माणकालागि वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराएको छ ।

नेपालको अन्धोपन सर्वेक्षण २०१२ को प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी दृष्टि विहिनताको उच्च दर रहेको जिल्लामध्येमा बारा जिल्ला परेपनि जिल्लामा आँखा अस्पतालको सेवा नहुँदा सेवाग्राहीहरू अन्यत्र उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ । जिल्ला भरिमै सुविधायुक्त आखा अस्पतालको व्यवस्था नभएकाले निजगढमा सुविधा सम्पन्न आखा अस्पतालको आवश्यकता महशुश भएकाले निजगढ नगरपालिकाले आखा अस्पताल निर्माणकालागि पहल र आवश्यक सहयोग गरेको निजगढका मेयर खनालले बताउनुभयो ।

आँखा अस्पताल निर्माण पश्चात बारा लगायत रौतहट, मकवानपुर, सर्लाही र भारतीय नागरिकहरुले समेत सर्वसुलभ रुपमा आँखा उपचारको सेवा प्राप्त गर्नसक्नेमा आफुले आशा लिएको खनालले बताए ।

छलफलमा अस्पताल निर्माणकोलागि आर्थिक सहयोग गर्ने दातृ निकाय एलिना भिजनका चिफ अपरेटिङ अफिसर बसन्त कुमार, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ, तिलगंगा आँखा अस्पतालका डाक्टर मोहनकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाका सभापति नारायण प्रसाद शर्मा, निजगढका मेयर सुरेश कुमार खनाल लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेकोथियो । छलफल पश्चात अस्पताल निर्माण हुने स्थल र प्राथमिक स्वास्थ्य केन्द्र निजगढको समेत अवलोकन गरिएको श्रोतले बताएको छ ।

सिंगापुरको संस्था एलिना भिजनले भियतनाममा आँखा अस्पताल निर्माण गरेको र नेपालमा पनि आँखा अस्पताल निर्माण गर्ने योजना रहेको भारतीय मूलका चिफ अपरेटिङ अफिसर बसन्त कुमारले जानकारि दिए ।