निजगढका सबै क्रसर उद्योग बन्द

1,057
Friendship Mobile

दीपेन्द्र जयसवाल, बारा । जिल्ला समन्वय समिति बाराले क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएपछि निजगढका सबै क्रसर उद्योग बन्द भएका छन्।

जिल्ला समन्वय समिति बाराको पुस २ गते बसेको बैठकले सो निर्देशन दिएसँगै क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकाले पुस ७ गते क्रसर उद्योगहरूमा पत्राचार गरेको थियो र अहिले यहाँका सबैजसो क्रसर बन्द भएका छन्। जिल्ला समन्वय समिति बाराले अनुगमनको क्रममा चुरे भएर निजगढ हुँदै कोल्हवीतर्फ बग्ने बकैया र धन्सार खोलामा मानिसहरूले जथाभावी ढङ्गले खोलाबाट नदीजन्य पदार्थ ग्रेभल, बालुवा उत्खनन, सङ्कलन गरेको पाएपछि उत्खनन र क्रसर बन्द गर्न निर्देशन दिएको हो।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ११ (६) बमोजिम उद्योगको वार्षिक क्षमता, सङ्कलन, तथा उत्खनन गर्ने कच्चा पदार्थको स्रोतसहितको विवरण जिल्ला समन्वय समितिमा पेश गर्न निर्देशन दिएको छ। उद्योगहरूबाट सो विवरण प्राप्त भएपछि जिल्ला समन्वय समितिको बैठकबाट क्रसर खोल्ने वा नखोल्ने निर्णय गरिने बताइएको छ। देशभरका स्थानीय तहले ठेक्काका नाममा जथाभावी नदीजन्य पदार्थको ठेक्का लगाइ चुरे पहाड र आसपासका बस्ती र जमीन कटानको समस्या उत्पन्न हुन सक्ने सम्भावना नजीकिंदै गएको छ।

यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि दुई किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक सङ्घ, संस्थादेखि एक किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुगमन समितिले मापदण्ड निर्धारण गरेको थियो। म्याद सकिए पनि करीब तीन वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहे पनि पछिल्लोपटक म्याद थप नभएको अवस्थामा पनि क्रसर उद्योग सञ्चालनमा थिए।

यता क्रसर सञ्चालकहरूले उद्योग सञ्चालनका लागि व्यवस्थित स्थानको छनोट गरी सडक, विद्युत्, पानीलगायतका आवश्यक कार्य गर्न निजगढ नगरपालिकालाई लिखित आग्रह गरेका छन् ।