मलको कथा : किसान नपाएर छटपटिन्छन्, गोदाम नष्ट गर्छ

527
Friendship Mobile

रसायनिक मल नपाएर किसान छटपटिई रहेको अवस्थामा वीरगञ्जमा भने मल नष्ट गरिने भएको छ । किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल नष्ट गरिने भएको हो ।

भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति नष्ट गर्ने तयारी गरिएको छ । भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई ¥याक मल भिजेर कालो डल्ला परेको अवस्थामा आइपुगेको थियो ।


गत वर्षसाल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । असोज १८ गते आइपुगेको ४६ हजार बोरा अर्थात २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (९५० हजार बोरा) डीएपी मल भिजेको थियो । आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको बताएका थिए । कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको थियो ।

रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन । जाँजपास नहुँदा भन्सारको गोदाममा ठाउँ ओगटिएको छ । कम्पनीले भने १ हजार २२५ मेट्रिक टन मलमात्रै नोक्सान भएको दाबी गरेको छ ।

कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याइरहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । बालीमा छर्ने समयमा मल पाउन असहज भइरहेको अवस्थामा भिजेको मल आएपछि किसान झनै मर्कामा परेका थिए ।