चक्रघट्टामा नेकपाको बृहत बिरोधको कार्यक्रम सम्पन्न

364
Friendship Mobile

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले पालिकामा रहेको बजार सेडको सार्वजनिक भवन गत पुस २६ गते खाली गराउन खोज्दा नेपाली काङ्ग्रेसका स्थानीय नेता रामजी साहको नेतृत्वमा करिब पाँच सयको हाराहारीमा आएका काङ्ग्रेस कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवको विरुद्धमा नाराबाजी गर्दै पालिकाको कार्यालयमा तोडफोड तथा ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढामा उत्रेका काङ्ग्रेस कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवमाथी समेत ढुङ्गा प्रहार गरेका थिए ।

स्थानीय नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सो समुहले पालिकाको कार्यालयमा प्रवेश गरि पालिका अध्यक्ष यादव माथी अभद्र व्यवहार गर्नुका साथै भौतिक सामग्रीहरु तोडफोड गरेको घटनाप्रती नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा नेकपाका जिल्ला इन्चार्ज डचाराज वाग्लेका अनुसार, पालिका अध्यक्ष यादवको कार्यकक्षमा प्रवेश गरि सो समुहले पालिकाको बैठक पुस्तिका, लैपटप १ थान र टैब ५ थान समेत लुटि लगेको उनले बताए । पालिकाको सिसिटिभी, कम्प्युटर, दराजहरु, विद्युतीय उपकरण र अध्यक्ष यादवले प्रयोग गर्दै आएका ना.१ झ १७०० नम्बरको सरकारी प्लेटको गाडी लगायत ३ वटा मोटरसाइकलमा समेत तोडफोड हुनु लज्जास्पद कार्य हो, र यस घृणित कार्यको हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ, इन्चार्ज वाग्ले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भने, नेपाली काङ्ग्रेसले सामाजिक द्वेष र अराजकता निम्त्याउन जुन घृणित खेलहरु खेलेका छन् , ती लज्जास्पद भएको उनले ठोकुवा गरे । झुटो प्रपंच रचेर नेपाली काङ्ग्रेसले यस घटना मार्फत राजनैतिक रीस्वी साध्ने खेल खेलिरहेको बताउदै नेता पन्तले घटनाको सत्यतथ्य जाँच गरि दोषिलाई तत्काल कानुनी कठ्घरामा ल्याउन स्थानीय प्रशासनसंग जोडदार माग गरे ।

गाउँपालिकाकै वडा नं. ६ गोइयाहीका स्थानीय नेपाली काङ्ग्रेसका कार्यकर्ता राम जिनिस साहले सो बजार सेडको भवन व्यापारीक प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए । बजार सेडको भवन खाली गर्नका लागि पालिका अध्यक्ष यादवले मौखिक तथा लिखित रुपमा अनुरोध गर्दा समेत साहले खाली नगरी उल्टै साहका छोरा ठगा भनेर चिनिने रवि साहले पालिका अध्यक्ष यादवलाई धाकधम्की दिदै आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । उनले भने, स्थानीय सरकार संचालन ऎन अनुसार सो बजार सेडको भवन खाली गराएर सोही भवनमा पालिकाले ५ बेडको कोरोना अस्पताल बनाउन लागेको अध्यक्ष यादवले जनाए ।

बिरोध सभा
प्रधानमन्त्री केपी शर्मा ओलिले चालेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम र पुस २६ गते चक्रघट्टा गाउँपालिकामा भएको तोडफोड र ज्यादतीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार एक कार्यक्रमको आयोजना गरि बिरोध जनाएको छ ।

चक्रघट्टामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने, संसद विघटन जस्तो असंवैधानिक कदमले देशमा राणा शासनको पुनरागमन भएको आभास हुन्छ, जुन जनताले कदापि स्विकार्दैन ।

सम्बोधनकै क्रममा विशिष्ट अतिथि पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भने, प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटन र नेपाली काङ्ग्रेसले सुनियोजित रुपमा पालिका अध्यक्ष यादवमाथी गरेको आक्रमणको विरुद्धमा आजको यो बिरोध सभा गरिएको जनाए ।

बिरोध सभालाई नेकपाका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरूले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम र नेपाली काङ्ग्रेसले पालिका अध्यक्ष यादवमाथी गरेको आक्रमणको विरुद्धमा चर्को बिरोध गरेका थिए ।

गाँउ–गाँउबाट आएका नेता तथा कार्यकर्ताहरुले पार्टीको झण्डा बोकेर बिरोध प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले ओलि सरकार विरुद्ध चर्को नाराबाजी गर्नुका साथै काङ्ग्रेसका कार्यकर्ताहरुलाई खबरदारी समेत गरेका थिए ।

नेकपाका युवा नेता तथा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादको अध्यक्षतामा भएको बिरोध सभा कार्यक्रममा पुर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव लगायत जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेता एवं कार्यकर्ताहरु, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।