निर्वाचनका लागि प्रहरीले माग्यो १२ अर्ब

207
Friendship Mobile

नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो ।

मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताएअनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालय, नक्सालको अनुमान छ ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । मन्त्रालयका अनुसार प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ ।

सञ्चार सेटसमेत अपर्याप्त रहेको भनिएको छ ।

सरकारले वैशाखका लागि घोषणा गरेको मध्यावधि निर्वाचन हुन्छ/हुँदैन भन्ने अन्यौलताका बीच सुरक्षा निकायले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि, म्यादी प्रहरी भर्ना जस्ता कार्यका लागि भने सर्वोच्च अदालतको आदेश कुरिरहेको छ ।