विश्वप्रकाश शर्मा प्रस्तोता रहेको ‘ऐना’ बुधवारदेखि प्रशारण हुने

269
Friendship Mobile

टेलिभिजन शो ‘ऐना’ माघ ७ गते बुधवारदेखि प्रशारण हुने भएको छ । विश्वप्रकाश शर्माले संचालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ । सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै ब्यापक र खोजमुलक हुने निर्माण कम्पनीले जनाएको छ ।

टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गत कार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो ।

कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो । देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनिको परिसरमा भब्य छायंकन सेट निर्माण गरेको छ । कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा स्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ ।

विदेशमा यस्ता खालका विषयबस्तुहरुमा सिमित टेलिभिजन-शोहरु भएतापनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठूलो टेलिभिजन शो हुने ‘ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे ।

‘ऐना’को निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापा रहेका लोकपथमा समाचार छ ।