प्रदेश २ : एकपछि अर्को जिल्लामा लकडाउन तयारी

1,095
Friendship Mobile

लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् ।

साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या हाल पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।

साउन ७ गते यता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ ।

पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।

यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ। अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु–याइने मन्त्री यादवले बताएका छन् ।

प्रदेशभित्र हालसम्म ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ। प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन्। प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ। अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ। तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।