सर्लाही, २४ जेठ । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ । पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ ।
आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ । साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ ।








