लालबन्दी | सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नम्बर १० लाई दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको छ । महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको हो ।


कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, राधा पौडेल पाउण्डेसनकी अध्यक्ष राधा पौडेल, बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेलगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा फूलबारी महिला समूह लालबन्दी–१० की सदस्य मनिसा विकले महिनावारी त महिलामा हुने सामान्य प्राकृतिक स्वास्थ्य प्रक्रिया हो रहेछ भन्ने कुरा बुझेपछि महिनावारीको समयमा खाना पकाउने, पूजाअर्चनालगायत सबै काम गर्न थालिएको सुनाईन् ।
महिनावारीकै कारण हुने विभेद अन्त्यका लागि लागि लालबन्दी–१० मा वडा कार्यालयले विगत तीन वर्षदेखि राधा पौडेल फाउण्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको थियो । अभियानलाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई कार्यक्रमकै अवसरमा सम्मानसमेत गरिएकाे छ ।

यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका ३ नं। वडालाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको थियो ।











