प्रदेश नम्बर दुईका उद्योग पर्यटन, बन तथा बातारबण मन्त्री रामनरेश रायले प्रदेशको समृद्धि उद्योगको बिकासमा निर्भर रहेको बताएका छन् ।
बाराको जितपुरमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आयोजना गरेको सुपथमुल्यको पसलको उद्घाटन गर्दै मन्त्री रायले प्रदेश सरकार उद्योग तथा पर्यटनको बिकासमा लागि परेको बताएका हुन । सो अवसरमा मन्त्री रायले आईतबार वस्ने प्रदेश संसदले उद्योग ऐन प्रदेश सभाबाट पारित हुन गईरहेको जानकारी समेत दिएका छन ।
उद्योग ऐन बनाउँने क्रममा आफुले बारम्बार उद्योगी ब्यवसायीसँग बैठक बसी सल्लाह, सुझाव लिएको जानकारी दिएका छन । ब्यवसायीहरुको सल्लाह बमोजिम नै उद्योग ऐन आउन लागेको बताएका छन ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले ५० प्रतिशत भन्दा बढी उद्योग कलकारखानाहरु यस नगरमा भएको जानकारी दिएका थिए । उहाँले साना तथा घरेलु उद्योगको शाखा कार्यालय जीतपुरमा खोल्न आग्रह सहितको ज्ञापनपत्र समेत उद्योग मन्त्री रायलाई बुझाएका थिए ।
मन्त्री रायले चाडपर्बहरु सके लगतै जीतपुरमा घरेलुको शाखा कार्यालय खोल्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा बिटु पानी उद्योगका सञ्चालक दिपक गुप्ताले नगर उद्योग बाणिज्य संघको भवन निर्माण गर्न १ लाख ६१ ह्जारको चेक नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय बाराको सहकार्यमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले दशैँलाई लक्षित गरी सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्यको पसल क्षेत्रभित्र स्थानिय उत्पादन ,कपडा र दैनिक उपभोग्य सामग्रीहरुको २० वटा सटलहरु राखिएको छ ।
कार्तिक १ गतेबाट सुरु भएको सुपथ मुल्यको पसल कार्तिक ५ गतेसम्म चल्ने नगर उद्योग बाणिज्य संघले जनाएको छ । कार्यक्रममा पुर्वसंबिधान सभा सदस्य शोभाकार पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेल, गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह, साना तथा घरेलु उद्योग कार्यालय बाराका अधिकृत अरबिन्द यादब, नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी , महासचिव शिवजी साह सोनार, रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी, समाजसेवी देवनारायण चौधरी, अफताब आलम लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ताको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए ।
रौतहटमा एक दम्पतिमाथी साङघातिक आक्रामण भएको छ । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौराका हरेन्द्र साह र उनकी श्रीमती शिला देवी माथि धारिलो हतियार प्रयोग गरि आक्रमण भएको हो ।
धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको जनाइएको छ ।
शनिबार राती आक्रमणमा परि घाइते अवस्थामा रहेकाले थप उपचारका लागि राति नै एलएसमा न्युरो अस्पताल वीरगञ्ज पठाइएको थियो । उपचारारत दम्पतिको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनु भयो ।
राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात समुहले धारिलो हतियारले आक्रमण गरेको थियो ।
आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृति अनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।
महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।
हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।
फ्रान्समा मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन देखाएर विद्यार्थीलाई पढाएका एक शिक्षकको टाउको काटिएको छ । घटना शुक्रवारको हो ।
राजधानी पेरिसनजिकैको उपनगर सेन्ट होनेरिनमा एक १८ वर्षीय व्यक्तिले मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या गरेका हुन् । हत्या गर्ने ती व्यक्तिलाई पछि प्रहरीले मारिदिएको छ ।
डु बोइस डीआउने नाम गरेका ती इतिहास र भूगोलका शिक्षकलाई रसियन चेचेन्या विद्रोही समूहबाट फ्रान्समा शरणार्थी बन्न आएका १८ वर्षीय एक युवकले टाउको काटेर हत्या गरेका थिए ।
इस्लाम धर्ममा प्रवर्तक मोहम्मदको तस्वीर, कार्टून या मूर्ति बनाउन प्रतिबन्धित छ ।
सन् २०१५ मा मोहम्मदको कार्टून बनाएको शार्ली हेब्दो नामको पत्रिकाको कार्यालयमा इस्लामिक समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा परी ११ पत्रकारसहित १७ व्यक्ति मारिएका थिए ।
कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।
सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
उदयपुर – सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।
भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, २७ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका – ८ शिरिसेका ३० वर्षीय महेशबहादुर विक रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की ३१ वर्षीया कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिदम्बा नगरपालिका–१५ बस्ने २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । कुमारीलाई कटारी अस्पतालमा र कल्पना र पवनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।
‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।
कान्तिपुरमा समाचार छ ।
कैलाली : धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्।
हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्।
चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए। आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ। थाहा खबर बाट
सदरमुकाम मलंगवामा रहेको जिल्ला प्रशासन कार्यालय सर्लाही आज (आइतवार) बाट खुल्दैछ ।
कार्यालयले नयाँ नागरिकता र नागरिकता प्रतिलिपी वितरण बाहेक अरु काम सूचारु गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समेतगरी ५ जना कर्मचारीमा एकैपटक कोरोना संक्रमण पाइएपछि गत असोज २५ गतेदेखि कार्यालयको सेवा बन्द गरिएको थियो ।
संक्रमित सीडीओ पौडेल र अन्य कर्मचारीहरु सेल्फ आइसोलेसनमै बस्ने र बाँकी कर्मचारीहरुले आजबाट काम सुरु गर्ने तयारी गरिरहेको कार्यालयका प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए ।
कार्यालयका सूचना अधिकारी समेत रहेका यादवका अनुसार भीडभाड हुन नदिन नागरिकता वितरणको काम तत्काललाई स्थगित नै राखेर विभिन्न खाले सिफारिस र नवीकरणको सेवा मात्रै सूचारु गर्न लागिएको हो । कार्यालय खुल्दा समेत नागरिकता लिन टोकन प्रणालीमार्फत धेरै दिन कुरेर लडाइँ नै गर्नुपरेको अवस्थामा पुनः अनिश्चित समयका लागि नागरिकता वितरणको काम रोकिएपछि सेवाग्राहीहरु भने मारमा परेका छन् ।
प्रशासकीय अधिकृत यादवले कोरोना संक्रमण पुष्टी हुनासाथ सेल्फ आइसोलेसन अर्थात आ–आफ्नो कोठामा बसिरहेका सीडीओ पौडेल र संक्रमित अरु कर्मचारीको आज थ्रोट स्वाब लिइने जानकारी दिए ।
उज्यालो अभियान बाट
कार्तिक २, रौतहट । बृन्दावन नगरपालीकाका प्रमुख रामस्नेहि यादवलाई मातृ शोक परेको छ । नगरप्रमुख यादवको आमा मन्तोरियादेवि यादवको शनिवार बिहान ८० बर्षको उमेरमा निधन भएको हो । उनको शनिवार नै अन्त्यष्टि गरिएको छ ।
अन्त्यष्टिका समयमा बृन्दावन नगरपालीकाका नेपाली कांग्रेस जिल्ला सभापती कृष्ण यादव, संबिधानसभा सदस्य जितेन्द प्रसाद यादव ‘सुनिल’, क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना, क्षेत्र नं. ३ का प्रत्यासि बिद्यायक राम नारायण यादव, गढिमाई नगरपालीकाका मेयर स्याम यादव, जिल्ला सदष्य वाल्मिकी यादव लगाएत सयौंले सहभागीता जनाएका छन ।
मृतक मन्तोरियादेविको शवलाई नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरिएको केन्द्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले बताएका छन ।
कार्तिक २ । नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ। बडादशैं अन्तरगत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ। नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।
ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ । मनुष्य जीवनको बाल्यावस्थापछिको दोस्रो उमेर साधना र ज्ञानको समय हो । सीप, साधना, तालिम र ज्ञानार्जन गर्न भगवती ब्रह्मचारिणीको उपासनाबाट सहज हुने गर्दछ । त्यस्तै सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीलाई सिद्धान्त, कर्तव्यपालना र भक्तिभावको प्रतीक पनि मान्ने गरिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनीसमेत भनी देवीभागवत लगायतका पुराण र अन्य धर्मग्रन्थहरूमा बताइएको छ । शास्त्रहरूमा उनको वदन र वर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल पुष्प धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रह्मस्वरूप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ सङ्केत गरेको छ । देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ र देवीमन्दिर र दुर्गाघरमा भेला हुने गर्दछन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि जारी रहने गर्दछ ।
यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको थियो। देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने हिन्दु पराम्परा रहेको छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ।