सर्लाही । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्ष शुक्र अस्त भएकै कारण दशैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।



शारदीय नवरात्रको विधि हरेक वर्ष असोज शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालको भरमा कुनै पनि भ्रममा नपर्न समितिले आह्वान गरेको छ । वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ ।


गएको असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।










