सर्लाही| पाकिस्तानको सरकारले अदालतले बलात्कार गरेको ठहर गरेका व्यक्तिलाई नपुंसक बनाउने कानुन फिर्ता लिएको छ। पाकिस्तानले ल्याएको बलात्कारसम्बन्धी विधेयकको यो प्रावधानविरुद्ध विभिन्न संगठनले विरोध गरेका थिए।
यो नियम इस्लामिक मान्यताविपरीत रहेको भन्दै उनीहरुले यसलाई सच्याउन माग गरेका थिए। त्यसैअनुसार पाकिस्तानले यो प्रावधान हटाएको हो।
पाकिस्तानमा एकपटकभन्दा धेरै बलात्कार गरेको पुष्टि भए नपुंसक बनाउन सक्ने किसिमको नियम बुधबार संसदबाट पारित भएको थियो। पाकिस्तान सरकारले यो बलात्कारविरुद्ध कडा कदम चाल्न यो कानुन ल्याइएको बताएको थियो।
यो कानुनमा पाकिस्तानको संवैधानिक निकाय काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सीआईआई)ले आपत्ति जनाएको थियो। पाकिस्तानका कानुनमन्त्रीले यो कानुन इस्लामविरोधी रहेको भन्दै हटाइएको बताएका छन्।
आलोचकहरुले भने पाकिस्तानमा चार प्रतिशतभन्दा कम मुद्दामा मात्र दोषी सिद्ध हुने गरेको भन्दै यो कानुन प्रभावहीन हुने बताएका थिए। त्यस्तै पाकिस्तानको सरकारले बलात्कारको मामिलामा पीडितलाई सहज हुने किसिमको केही व्यवस्था पनि ल्याएको छ।
सर्लाही | प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नपाएको खुलेको छ।
पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा गरेका थिए।
नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। विभाग स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन।
विभागका एक उच्च अधिकारीले यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको बताए।
‘पतञ्जलीले टीभी च्यानल सञ्चालनका लागि अनुमति मागेर आवेदन पनि दिएको छैन। यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी हो,’ विभागका ती अधिकारीले नेपालखबरसँग भने।
तर, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह यी दुई टीभी च्यानलले सरकारबाट अनुमति सञ्चालन पाइसकेको दाबी गर्छन्।
‘पतञ्जली नेपाल र आस्था नेपाल दुवै टीभी स्याटलाइट प्रविधिका हुन्। हामीले प्रसारणका लागि सरकारबाट स्वीकृति पनि पाइसकेका छौँ,’ सिंहले नेपालखबरसँग भने।
उनले आस्था च्यानलले चाहिँ भारतीय आस्था च्यानलकै सामग्री प्रसारण गर्ने बताए। सिंहका अनुसार यी टीभीले योगसाधना, योगाभ्यास र धार्मिक गतिविधिबारे सामग्री प्रसारण गर्नेछन्।
‘यी दुवै टीभी च्यानल कुनै व्यावसायिक स्वार्थले सञ्चालनमा आएका होइनन्,’ उनले भने।
पतञ्जलीका नेपाल प्रमुख सिंहले दुई टीभीको लगानीबारे टिप्पणी गर्न चाहेनन्। पतञ्जली आश्रममा आयोजित टीभी च्यानल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सुजाता कोइरालासम्म जम्मा भएका थिए।
बिहान ९ बजे सुरु भएको कार्यक्रममा सरकारका मन्त्रीहरु बालकृष्ण खाण र पर्यटनमन्त्री प्रेम आले पनि सहभागी भए। नेताहरु पतञ्जलीका योगगुरु रामदेव तथा अर्का अभियन्ता आचार्य बालकृष्णको निम्तो स्वीकार्दै त्यहाँ भेला भएका थिए। भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सोही मञ्चमा थिए। नेताहरु रामदेव र आचार्य बालकृष्णसँग कुम जोडेर रमाइरहेको देख्न सकिन्थ्यो।
कार्यक्रमको उद्घाटनमा भारतीय यातायातमन्त्री नितीन गडकरी आउने तय भए पनि अन्तिम समयमा आएनन्। उनले भिडियो कन्फ्रेन्सबाटै पतञ्जलीलाई शुभकामना दिए।
कार्यक्रम देख्दा यस्तो लाग्थ्यो– नेपालको कुनै राष्ट्रियस्तरको टीभी उद्घाटन भइरहेछ। तर सबै नेताको रामदेवसँगको व्यक्तिगत सम्पर्कका कारण उनीहरु त्यहाँ पुगेका हुन्।
रामदेव आफैँले माओवादी केन्द्रका अध्यक्षलाई बिहीबारै भेटेर कार्यक्रममा जसरी पनि आइदिन आग्रह गरेका थिए। नेताहरुले रामदेवको आग्रह नकार्न सकेनन्।
एमालेका अध्यक्ष केपी ओली चाहिँ कार्यक्रममा गएनन्। निम्ता पाए पनि ओलीले आफू अस्वस्थ रहेको बताएका थिए।
तामझाम सहित उद्घाटन गरिएका यी टीभी च्यानल कुन उद्देश्यले ल्याइए भन्ने खुलेको छैन। कार्यक्रममा सहभागी हुन पुगेका एभीन्युज टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले पतञ्जलीका दुई टीभी च्यानलका प्रकृतिबारे जानकारी नरहेको बताए।
‘मलाई टीभी उद्घाटन भनेर बोलाइएको थिएन। पतञ्जलीबाट एउटा भवन उद्घाटन गर्ने भनिएको थियो। त्यहाँ पुग्दा थाहा भयो टीभी च्यानल पनि उद्घाटनको कार्यक्रम रहेछ,’ राजकर्णिकारले नेपालखबरसँग भने।
टीभी च्यानलबारे कार्यक्रममा खासै जानकारी नदिइएको उनले बताए।
भारतीय लगानीका यी दुई टीभी कस्ता हुन्?
भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा आएका हुन्। आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा टीभी ल्याएको हो। आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्ष हुन्।
मण्डिखाटारस्थित पतञ्जली नेपालको आश्रममा नै यी दुई टीभीका कार्यालय स्थापना गरिएका छन्। यी दुई टीभीमा कति लगानी छ भन्ने स्पष्ट खुलेको छैन।
भारतीय मिडियाले भारतीय कम्पनीले नेपालमा आस्था नेपाल र पतञ्जली टीभी ल्याउन लागेको समाचार दिएका छन्। त्यहाँको दि इन्डियन एक्सप्रेस दैनिकले यी दुई च्यानल सञ्चालनमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने समाचारमा जनाएको छ।
पतञ्जलीले भारतमा आयुर्वेदिक सामान, मह, सर्फ, दन्तमञ्जन, आटा, साबुन, घिऊ लगायत अनगिन्ती दैनिक उपभोग्य सामान बिक्री गर्छ। पतञ्जलीलाई भारतीय जनता पार्टीको प्रत्यक्ष र परोक्ष सहयोग रहेको मानिन्छ। भारतीय जनता पार्टीका केन्द्रीय मन्त्री पतञ्जलीका कार्यक्रममा सहभागी भइरहेका हुन्छन्।
योग र धर्मको आवरणमा पतञ्जलीले व्यापार र राजनीति गर्दै आएको छ। भारतमा योग शिविर सञ्चालन गर्ने पतञ्जलीले आयुर्वेदिक वस्तुको उत्पादन गरेर बेच्ने गरेको छ।
पतञ्जलीले कोरोना महामारीका बेला कोरोना निको पार्ने भन्दै ल्याएको ‘कोरोनिल’ आयुर्वेदिक औषधि भारतमै विवादित बनेको थियो। जनस्तरबाट विरोध भएपछि भारत सरकारले कोरोनिल औषधि बिक्रीवितरणमा रोक लगाएको थियो। नेपालमा पनि कोरोनिलको व्यापार गर्ने प्रयास पतञ्जलीले गरेको थियो। तर उनीहरुको प्रयास सफल भएको थिएन।
पतञ्जलीले नेपालमा पनि योग शिविर सञ्चालन गर्ने गरेको छ। बारम्बार नेपाल आइरहने रामदेव र आचार्य बालकृष्णले काठमाडौँको टुँडिखेल लगायत स्थानमा योग शिविर चलाउने गरेका छन्।
पतञ्जलीले नेपालमा पनि दैनिक उपभोग्य सामग्रीको व्यापार गर्ने गर्छ। नेपालमा अहिले दुई च्यानल सञ्चालनमा ल्याएर पतञ्जलीले आफ्नो व्यापार प्रबद्र्धन गर्न खोजेको देखिन्छ। तर पतञ्जली नेपालका पदाधिकारी यो स्वीकार्न तयार छैनन्।
सर्लाही | नेकपा माओवादी केन्द्रले आज (शनिबार) देशभर वडा सम्मेलन गर्दै छ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
माओवादी केन्द्रले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुंगा साबित हुने विश्वास लिइएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादी केन्द्रले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा तय गरेको छ।
माओवादी केन्द्रले वडा समिति चयन गर्दा सकेसम्म सर्वसम्मतीमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएका खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरिएको छ।
वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।’
माओवादी केन्द्रले यही मंसिर ११ गते सबै पालिकामा र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दै छ। आगामी पुस ११, १२ र १३ गते माओवादी केन्द्रले काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी छ।
माओवादी केन्द्रले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समितिको व्यवस्था गरेको छ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत र नसके मात्रै निर्वाचन गर्नेगरी नीतिगत व्यवस्था गरिएको जानकारी दिए।
रासससँग उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ। यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ। त्यसका लागि आवश्यक व्यवस्था गरिएको छ।’
उनका अनुसार शनिबार देशभरका ६ हजार ७४३ वटा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ। माओवादी केन्द्रले हालसम्म आफ्नो पार्टी सदस्यको संख्या झन्डै ८ लाख पुगेको जनाएको छ। केही विवरण प्रविष्ट गर्न बाँकी रहेको पार्टीले जनाएको छ।