सर्लाही | बरहथवामा भएको महिला हत्याको सफल अनुसन्धान गरेको भन्दै ईलाका प्रहरि कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक (डिएसपी) उमाशंकर प्रसाद यादवलाई पुस महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरिएको छ ।
गएको पुस १७ गते बरहथवा नगरपालिका १० बस्ने ३२ वर्षीया सावित्री कुमारी महरा १७ पुसमा घरबाट वेपत्ता भएकी थिइन । उनको केही भाग डढेको अवस्थामा नजिकैको उखु बारीमा शव फेला परेको थियो । सोही हत्या काण्डको अनुसन्धान गरी तीन जना अभियुक्त पक्राउ गर्न सफल यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले पुस महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार दिएको हो ।
डिएसपी यादवले त्यसबाहेक पनि अर्काे हत्याको घटना, चोरीको घटनाको पनि सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले हस्ताक्षर गरी यादवलाई महिनाको उत्कृष्ट प्रहरीको प्रमाणपत्र दिएका हुन् ।
काठमाडौं | सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।
सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । यसबारे थप निर्णय गर्न गठबन्धनको बैठक माघ ६ गते बिहीबार पुनः बस्ने भएको छ ।
सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक बसेर आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।
यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ ।
यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो । सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो ।
तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।
यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।
आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ ।
आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ ।
नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।
हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।
प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन ।
यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा भइरहेको छ ।