सर्लाही । रौतहटमा गएराति अज्ञात व्यक्तिले एक युवामाथि गोली प्रहार गरेको छ। गोली लागेका युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।




गौर नगरपालिका- ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति सवा ९ बजे बजेतिर स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।
उनलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।


यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै वीरगन्ज लगिएको छ। उनको नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार जारी छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ।









