सर्लाही | समयमा पर्याप्त मल नपाउँदा सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । उत्तर–पश्चिम भेगमा व्यावसायिक आलु खेती गर्दै आएका किसानले समयमै रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन् ।
विगतका वर्षहरूभन्दा उत्पादनमा कमी हुनु र उचित मूल्य पनि नपाउँदा मारमा परेको किसानहरुको गुनासो छ । प्रतिकिलो २५ देखि ३० रूपैयाँको आलुको बिउ किनेर रोपेको आलु अहिले १५ रूपैयाँमा बिक्री गर्नुपरेको उनीहरुको भनाइ छ ।
छिमेकी मुलुक भारतबाट सस्तो मूल्यका आलु बजारमा भित्रिएकाले स्थानीय उत्पादनले भाउ नपाएको उनिहरुको भनाई छ । सर्लाहीको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलु खेती हुने गरेको छ ।
यस क्षेत्रमा लालगुलाव, कुप्रीसिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १ हजार ४०० हेक्टरमा आलु खेती हुन्छ । शीत भण्डार नहुँदा भाउ राम्रो नपाएको किसानहरुको भनाइ छ ।
यहाँ उत्पादन भएको आलु मलंगवा, बिरगंज, रौतहटको चन्द्रपुर, बाराको कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको छ ।
सर्लाही | नयाँरोडमा मंगलवार दिउँसो एउटा मालवाहक ट्रक पुलमुनि खसेको छ । साईकलयात्रीलाई बचाउन खोज्दा ट्रक पुलमुनि खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदारमान दोङले जानकारी दिनुभयो ।
किराना समान बोकेर पश्चिमबाट आइरहेको ना ५ ख ४२२५ नम्वरको ट्रकले अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खोज्दा ट्रक पुलमुनि खसेको हो ।
नयाँरोडस्थित हरिवन र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन राईखोलाको पुलको रेलिङ भत्काएर ट्रक तल खोलामा खसेको थियो । दुर्घटनामा ट्रक चालक मकवानपुरका २४ वर्षीय नवराज गौतम घाइते छन् ।
साइकल यात्री भने सकुशल रहेका प्रहरिले जनाएको छ ।
सर्लाही | मोटरसाईकल चोरी गरेको १० दिन पछि सर्लाही प्रहरीले मोटरसाईकल सहित लालबन्दीका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ बस्ने २९ बर्षिय सुर्यदिप चौधरि, १९ बर्षका रुपेश माझि मुसहर र वडा नम्बर १५ का २९ बर्षिय सोम बहादुर रेग्मि रहेका छन । उनीहरुलाई वडा नम्बर ५ स्थित मेजरगंजबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पक्राउ परेका ३ जना मध्येका वडा नम्बर १५ सतभैयाका सोम बहादुर मगरले भने अन्य २ ले चोरि गरी ल्याएको मोटरसाईकल खरिद गरेका बुझिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने मगरलाई आफ्नै मोटरसाईकल हो, अहिले पैसाको खाँचो परेकोले बेच्न लागेको भन्दै पक्राउ परेका २ जनाले सस्तोमा मोटरसाईल बेचेका थिए ।
केहि समयपछि पास गरिदिन्छु भनेपछि सस्तोमै मोटरसाईकल भेटियो भन्दै किनेका मगरलाई पनि प्रहरिले चोरीमै संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख ईन्स्पेक्टर निर्मल थापाका अनुसार सस्तोमा मोटरसाईकल पाईयो भन्दै लोभमा परि चोरीको मोटरसाईकल किन्नेलाई पनि कानुनले चोरीमा संलग्न भएको मान्ने भएकोले पक्राउ गरिएको बताउनु भएको छ ।
उनीहरुले यहि माघको गएको ७ गत्ते मध्यरात लालबन्दी ५ का ज्ञान बहादुर क्षेत्रीको घरको बरण्डामा राखिएको प्र.२–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १२५ सिसिको होण्डा साईन मोटरसाईकल चोरि गरेका थिए ।
मोटरसाईकल चोरीमा संलग्नहरुलाई सोमवार बेलुकी ५ बजेको समयमा नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
यता सोम बहादुर रेग्मि पक्राउ परेपछि लालबन्दी नगरका कर्मचारि र मगरको परिवारले बिमत्ति राख्दै बिरोध गरिरहेका छन । उनिहरुले चोरीको मोटरसाईकल हो भन्ने थाहा नपाएर मोटरसाईकल किनेका रेग्मिलाई फसाउने नियतले प्रहरीले मोटरसाईकल चोरीमा संलग्न भन्दै सार्वजनिक गरेकोमा बिरोध गरेका हुन ।