राैतहट । नेपाली कांग्रेस (देउवा पक्ष) को १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले रौतहट जिल्ला संयोजकको जिम्मेवारी युवा नेता रबिचन्द्र कोइरालालाई सुम्पेको छ । महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक शशांक कोइरालाले पार्टीको स्थापित मूल्य-मान्यतालाई आत्मसात् गर्दै संगठन सुदृढीकरणका लागि युवा नेता कोइरालालाई रौतहट संयोजकमा मनोनित गर्नुभएको हो ।

केन्द्रीय संयोजक कोइरालाद्वारा जारी मनोनयन पत्रका अनुसार, आगामी १५ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जिल्लाका नेता-कार्यकर्ताहरूको राय, सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो । नवमनोनित संयोजक कोइरालाले रौतहटमा कांग्रेसको सांगठनिक संरचनालाई थप मजबुत र गतिशील बनाउने विश्वास पार्टीले लिएको पत्रमा उल्लेख छ ।
पत्रमा २०८३ श्रावण २९, ३०,३१ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय भेला/सम्मेलनको निर्देशन बमोजिम नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भाद्र १७ र १८ गते बसेको बैठकले नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने गरि, असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मङ्सिर ४ गते प्रदेश अधिवेशनहरु गर्ने निर्णय भएको जनाइएको छ ।











