चन्द्रपुर, २५ असोज । स्वर्गीय आमा इश्वरी देवी आचार्यको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा रौतहटको चन्द्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रक्तदाता संगठन रौतहट जिल्ला शाखाको आयोजनामा चन्द्रपुर–६ स्थित आचार्य निवासमा शनिबार आयोजित कार्यक्रममा ७ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रममा चन्द्रपुर अस्पताल प्रालिले प्राविधिक सहयोग गरेको थियो ।
कसैको १३ औं पुण्यतिथि, वार्षिक पुण्यतिथि, जन्मदिन वा वैवाहिक वर्षगाँठजस्ता अवसरमा रक्तदान गर्ने संस्कृतिको विकास गर्दै बिरामीलाई आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले मधेस प्रदेशमै पहिलोपटक यस्तो अभियान सुरु गरिएको नेपाल रक्तदाता संगठन रौतहट शाखाका अध्यक्ष तथा रक्तदान अभियानमा सक्रिय बसन्त आचार्यले बताए । यस्ता अवसरमा गरिने रक्तदानले मानवीय सेवासँगै उत्सव र पितृकार्यलाई समेत सार्थक बनाउने उनको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता अवसरलाई रक्तदान अभियानसँग जोड्दै अभियानलाई सफल बनाउन उनले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई आग्रह गरेका छन् ।










