सर्लाही | हरिवन नगरपालिका २ अत्रौलीमा प्रजनन् स्वास्थ्य तथा रुग्नता सम्बन्धी क्याम्प सम्पन्न भएको छ ।
वडा अध्यक्ष अर्जुन महतोको अध्यक्षता तथा नगरउपप्रमुख रेणुका कुमारी पौडेलको प्रमुख आतिथ्यतामा क्याम्प सम्पन्न भएको हो ।
क्याम्पका अवसरमा सो वडाभित्रका ९१ जना महिलाहरुको प्रजनन् स्वास्थ्य जाँच गरिएको थियो । जाँच गरिएकामध्ये ९ जनामा पाठेघरको मुखको क्यान्सर भएको पाईएको छ ।
त्यस्तै २ जनामा आङ्ग खस्ने समस्या भएको पाइएको छ भने एक जनालाई रिङ राखिएको छ ।
जाँचकै क्रममा ३० जना महिलाहरुमा यौन रोग भेटिएको छ । त्यस्तै १३ जना महिलाको स्तन क्यान्सर सम्बन्धी जाँच गरिएको नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
क्याम्पको उद्घाटन कार्यक्रममा स्त्रीरोग विशेषज्ञ लक्ष्मी थापा, नगर शिक्षा शाखाका प्रमुख उपसचिव नवराज निरौला, हरिवन नगर स्वास्थ्य शाखाका संयोजक शशीकाकन्त सिंह, सासापुर स्वास्थ्य चौकीका डाक्टर विजय साह, नर्सिङ स्टाफ लक्ष्मी आचार्य, अत्रौली स्वास्थ्य चौकीका इन्चार्ज मोहन घिसिङ्ग र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।
सर्लाही | हरिवनमा ३८ जनामा टिबी अर्थात् क्षयरोगको रोगको लक्षण देखिएको छ । टिबी फ्रि पालिका बनाउने उदेश्य अनुरुप नगरमा सञ्चालित टिबी कार्यक्रमको अर्धबार्षिक समीक्षा तथा उपचारको नतिजा कोहर्ट विश्लेषण गोष्ठी कार्यक्रमका अवसरमा ३८ जनामा टिबी रोगको पहिचान भएको जानकारी दिईएको हो ।
हरिवन नगर स्वास्थ्य शाखाको आयोजना तथा नगर उप प्रमुख रेणुका पौडेलको अध्यक्षतामा भएको गोष्ठीका अवसरमा नगरस्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले यसवर्ष नगरपालिकाले १२० जनामा परिक्षण गरी टिबी पहिचान तथा उपचार गर्ने लक्ष्य लिए अनुरुप हालसम्म ५८ जनाको खकार परिक्षण गरिएको जानकारी दिए । परिक्षण गरिएकामध्ये ३८ जनामा टिबी रोगको लक्षण देखिएको स्वास्थ्य शाखाका संयोजक चौधरीले बताए ।
उनका अनुसार विभिन्न आमा समूहका महिला सदस्य तथा महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरी घरदैलो अभियान मार्फत टिबी रोगको पहिचान गर्ने काम भइरहेको छ । अभियान अन्तर्गत गर्भवती महिला, कुपोषित बालबालिका, ईट्टा भट्टाका मजदुर, चिनीमिलमा काम गर्ने मजदुर, गुम्बा तथा मस्जिदहरुमा भेला भएका मानिसहरुको खकार जाँच गरिने स्वास्थ्य शाखा संयोजक चौधरीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका क्षयरोग अधिकृत बलीराम यादव, हरिवन नगर शिक्षा शाखाका प्रमुख नबराज निरौला, तथा अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको समीक्षा गोष्ठीका अवसरमा सहभागिहरुले हरिवनलाई टिबी फ्रि पालिका बनाउन आगामी दिनमा के–कस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता विषयमा छलफल गरेका थिए ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई टिबी रोगमुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही अनुरुप देशभर टिबी रोगीको पहिचान तथा निःशुल्क उपचार गर्ने काम भइरहेको छ । सर्लाहीका विभिन्न पालिकाहरुले पनि सोही अनुरुप रोगीको पहिचान तथा उपचारका कार्यक्रमहरु सञ्चालन गरेका छन् ।
स्वास्थ्य शाखाका संयोजक चौधरीका अनुसार माइक्रोब्याक्टेरिया ट्युबरक्लोसिस भनिने ब्याक्टेरियाका कारण टिभी रोग लाग्ने गर्दछ । यो रोगले विशेष गरी फोक्सोमा संक्रमण गर्दछ भने शरीरका अन्य भागमा पनि यसको असर देखिने गर्दछ ।