हरिवन, १६ चैत । सर्लाहीको हरिवन नगरपालिका र नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र सुखेपोखरीको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नि:शुल्क आँखा जाँच शिविरको दोस्रो दिन आज १६७ जनाले आँखा जँचाएका छन् ।
आजको शिविरमा ११५ जना महिला र ५२ जना पुरुषको आँखा जाँचिएको आयोजकले जनाएको छ । जाँचका क्रममा २५ जनामा मोतियाविन्दु (Cataract) समस्या पत्ता लागेको र १५ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।
हिजो हरिवन नगर अस्पताल सासापुरमा गरिएको नि:शुल्क आँखा जाँच शिविरमा १४२ जनाले आँखा जँचाएका थिए ।महिला ८७ र पुरूष ५५ जनाको आँखा जाँच गर्दा २७ जनामा माेतियाविन्दु फेला परेको हरिओन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए । सो दिन ३८ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको थियो ।
शिविर अन्तर्गत भोलि १७ गते अत्रौली स्वास्थ्य चौकीमा आँखा जाँच गरिने छ । शिबिरमा पत्ता लागेका मोतियाविन्दुका बिरामीहरूलाई चैत्र २० र २१ गते आँखा उपचार केन्द्र सुखेपोखरीस्थित बाल पोषण योजना भवनमा नि:शुल्क शल्यक्रिया गरिने छ।

लालबन्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा सर्लाहीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम मलंगवास्थित कार्यालयमा शुभकामना आदान प्रदानसँगै अन्तरक्रिया गरिएको महासंघकी उपाध्यक्ष बन्दना झाले बताईन ।
महासंघ जिल्ला शाखा सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका केहि बाहेकका पत्रकारहरु उपस्थित भएका थिए । कार्यक्रममा जिल्लाका पूर्व अध्यक्षहरु तथा कविलासि नगरपालिकाकी उपप्रमुख पुनम कर्णको समेत उपस्थिती रहेको थियो ।

दिवसकै अवसर पारेर मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो । मलंगवास्थित जिल्ला समन्वय समिति (साबिकको जिविस) भवनमा कार्यालय स्थापना गरिएको जिल्ला अध्यक्ष ठाकुरले बताए । भवनको एउटा कोठा महासंघलाई प्राप्त भएपछि त्यसैलाई कार्यालय बनाईएको हो ।
कार्यालय स्थापना भएसँगै जिल्लाका पत्रकारलाई छलफल, बैठक, पत्रकार सम्मेलन तथा अन्य कार्यक्रम गर्ने ठाउँको प्रवन्ध मिलेको भन्दै कार्यक्रमका वक्ताहरुले खुसि ब्यक्त गरेका थिए । सो कार्यालयको आज नै प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालगायतले निरीक्षण गर्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

यस अघि पत्रकार महासंघ सर्लाहीको आफ्नो ब्यवस्थित कार्यालय नहुँदा काम कारवाहिमा समेत असर पर्दै आएको थियो । मलंगवामै महासंघले पाएको एउटा भवन अत्यन्तै जिर्ण हुँदा कार्यालय संचालन गर्न कठिन भएको छ भने लालबन्दी १ स्थित नवलपुरमा महासंघ भवन निर्माणकै चरणमा केहि समस्या भएपछि निर्माण कार्य रोकिएको छ ।
काठमाडौं, १६ चैत । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो ।
क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन् ।
“जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ”, उनले भनिन् । सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराइन् ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए ।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताए । उनका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिनेछ । महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।