सर्लाही, २० असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्त्यतिर केप भर्डेका डिनेय बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो ।
अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर ५९ औं मिनेटमा डेरोय डुआर्टेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुयाए।
अतिरिक्त समयको १२ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २ – १ को अग्रता दिलाए। तर १०३औं मिनेटमा सिड्नी काब्रालले गोल गर्दै केप भर्डेलाई फेरि २-२ को बराबरीमा ल्याए ।
खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला अतिरिक्त समयको १११ औं मिनेटमा केप भर्डेका डिनेय बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। सोही गोल अर्जेन्टिनाको जितको निर्णायक गोल बन्यो।
विश्व वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ५९औँ वरीयताको केप भेर्देले अन्तिमसम्म कडा चुनौती दिएको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको केप भर्डे पराजित भए पनि आफ्नो साहसिक खेलका कारण समर्थकहरूको प्रशंसा बटुल्न सफल भयो।
यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
याे जितसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी लगातार आठ विश्वकप खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्।


३९ वर्षीय मेस्सीले खेलको २९औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने दुर्लभ उपलब्धि आफ्नो नाममा लेखाए ।









