२०८३ भाद्र १० बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १० बुधबार

हरिवन, १८ चैत । सर्लाहीको हरिवन नगरपालिकामा संचालन भएको चार दिने निःशुल्क आँखा शिबिरमा छ सय बढिले लाभ लिएका छन । हरिवन नगरपालिका तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र सुखेपोखरीको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ६०५ जनाले आँखा जाँच गराएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

गएको १५ गतेदेखि आजसम्म हरिवन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको शिविरमा ३६१ महिला र २४४ जना पुरुषले आफ्नो आँखा जाँच गराएका थिए । जसमध्ये १३६ जनामा मोतियाविन्दुको समस्या फेला परेको छ । मोतियाबिन्दुको समस्या फेला परेका बिरामिलाई यहि महिनाको २० र २१ गते सुकेपोखरी आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने हरिवन स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

मोतियाबिन्दुका बिरामिलाई गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सुखेपोखरीमा निःशुल्क शल्यक्रिया गर्न लागिएको हो । शिबिरमा मोतियाविन्दु पहिचान भएका बिरामीहरूलाई थप परीक्षणका लागि सुखेपोखरीस्थित आँखा उपचार केन्द्रसम्म लैजान हरिवन नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो ।

शिविरको क्रममा स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरेका थिए । कार्यक्रम सफल बनाउन आँखा उपचार केन्द्र सुखेपोखरी र हरिवन स्वास्थ्य चौकीको टोलीले महत्वपूर्ण भूमिका खेलेको हरिवन नगरपालिकाले जनाएको छ । शिविर हरिवन–४ स्थित सासापुर नगर अस्पताल, हरिवन–६ को घुर्कौली स्वास्थ्य चौकी, हरिवन–२ को अत्रौली स्वास्थ्य चौकी तथा हरिवन–८ को स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।

चार दिनको निःशुल्क शिबिर अवधिमा कुल १२० जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।

सर्लाही, १८ चैत । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठनको प्रारम्भिक कार्य समिति भंग गरिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले शासकीय सुधारअन्तर्गत राजनीतिक ट्रेड युनियनहरू भंग गर्ने निर्णय गरेपछि समितिको बैठकले उक्त निर्णयको स्वागत गर्दै चैत्र १६ गतेदेखि लागु हुने गरी समिति भंग गरेको जनाएको हो ।

परियोजनाले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको सयबुँदे शासकीय सुधारसम्बन्धी कार्यसूचीमध्ये खण्ड ‘ख’ अन्तर्गत उल्लिखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता शीर्षकको बुँदा नं १२ मा उल्लेख भएबमोजिम दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरिएको थियो ।

सोही सरकारी निर्णयलाई स्वागत गर्दै वन परियोजना कर्मचारी संगठनको प्रारम्भिक कार्य समितिले मिति आजैबाट आफ्नो समिति भंग गरेको जनाएको हो ।

समितिका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरिसकेको छ ।

मलंगवा, १७ चैत । मधेश प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा केन्द्रबाट मोबाइल फोन बरामद भए फिर्ता नदिइने भएको छ ।

प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई जनकपुरमा बोलाएर मधेश प्रदेश सरकारले परीक्षा केन्द्रभित्र विद्यार्थीको साथबाट मोवाइल बरामद भए नष्ट गर्न निर्देशन दिएको हो । मधेशमा अघिल्ला वर्षहरुको एसइइमा परीक्षा केन्द्रबाट ठुलो मात्रामा मोवाइल फोन बरामद भएको थियो । बैठकमा आफूहरुलाई बोलाएर परीक्षामा हुन सक्ने अमर्यादित गतिविधि रोक्न मोवाइल फोन र अन्य विद्युतीय सामग्री पूर्णरुपमा निषेध गर्न निर्देशन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

यो वर्षको एसइइ चैत १९ गतेदेखि सुरु हुँदै छ । एसइइका लागि प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिकासहितका सामग्री पुगिसकेको छ ।

प्रश्नपत्रसमेत नजिकको प्रहरी कार्यालयमा धमाधम पु¥याउनेक्रम चलिरहेको छ । यो वर्षको एसइइमा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना परीक्षार्थी सहभागी हुन लागेका शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

एसइइ सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी नियुक्त भइसकेका छन् । ११ हजार ३७१ परीक्षार्थी सामेल हुने सर्लाहीमा पनि एसइइको तयारी लगभग पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका सूचना अधिकारी एवं शाखा अधिकृत सुनिलकुमार कुशवाहाले बताए ।

एसइइ सञ्चालन गर्न सर्लाही जिल्लाभर ३५ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।

१९ चैतदेखि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षाका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था मिलाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ,’ एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।

जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘अरुको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’

अघिल्ला वर्षहरूमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो ।

यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर ढिलागरी नतिजा सार्वजनिक हुनेगरेको गुनासो आउने गरेको थियो । ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो । मन्त्रालयले एसईई पछिको ब्रीज कोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

एसईई परीक्षाको तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १९ गते बिहीबार (भोलि) देखि एसईई परीक्षा सुरु हुँदैछ ।

शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।

परीक्षा सञ्चालन हुनुअघि शिक्षा मन्त्री पोखरेल सहित प्रदेश र जिल्लाका सम्बन्धित अधिकारीहरुको भर्चुअल बैठक समेत बसेको छ । ‘तयारी सकिएको छ । भोलि परीक्षा हुन्छ । प्रदेश र जिल्लासँग हिजो भर्चुअल बैठक पनि भयो । सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने ।

उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने छ ।

यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।

एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।