२०८३ भाद्र २४ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २४ बुधबार

२३ भदौ, जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ ।

वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ । त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा तीन दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो ।

वन क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती क्षेत्रलाई पुनःवनको संरक्षण र व्यवस्थापनमा ल्याइएको सूचना अधिकारी चौधरीले बताए। उनका अनुसार वन अतिक्रमण नियन्त्रणसँगै चोरी–तस्करी नियन्त्रण र वन संरक्षणमा कार्यालयले सक्रियता बढाएको छ ।

वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आवमा ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी सर्लाहीमा आठ लाख ६३ हजार ९७०, सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरिएको वन निर्देशनालयले जनाएको छ ।

वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६ दशमलव ५ हेक्टर, बारामा ४३ दशमलव ५३ हेक्टर, महोत्तरीमा २० हेक्टर, सिरहामा २६ हेक्टर, सर्लाहीमा आठ दशमलव ५ हेक्टर र पर्सामा दुई दशमलव २४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए।

चालु आर्थिक वर्षमा मधेस प्रदेशमा वन क्षेत्रबाट उल्लेख्य परिमाणमा काठ तथा दाउरा उत्पादन भएको छ । वन निर्देशनालयका अनुसार हालसम्म छ लाख ६५ हजार २७३ दशमलव २६ घनफिट काठ उत्पादन भएको छ ।

सबैभन्दा बढी सर्लाहीमा तीन लाख ५१ हजार ७५९ दशमलव ५ घनफिट काठ उत्पादन भएको छ । त्यस्तै सप्तरीमा ६५ हजार २९ दशमलव ४९, सिरहामा ६७ हजार ८७६ दशमलव ६७, धनुषामा सात हजार ६२३ दशमलव ७२, महोत्तरीमा ७८ हजार ५१६ दशमलव ९८ र बारामा ९४ हजार ४६६ दशमलव ९ घनफिट काठ उत्पादन भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

सोही अवधिमा एक हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ । सप्तरीमा ३५ दशमलव ३६, सिरहामा २२ दशमलव ५७, धनुषामा सात दशमलव ३८, महोत्तरीमा १९६ दशमलव ८९, सर्लाहीमा ७५१ दशमलव ९५ र बारामा २४२ चट्टा दाउरा उत्पादन भएको जनाइएको छ ।

वन पैदावारको बिक्री वितरणतर्फ भने हालसम्म पाँच लाख तीन हजार ७९९ दशमलव २७ घनफिट काठ बिक्री वितरण गरिएको छ । काठ बिक्रीबाट प्रदेश सरकारलाई उल्लेख्य राजस्वसमेत प्राप्त भएको छ ।

काठ तथा दाउराको बिक्री, वन पैदावारको उपयोग र अन्य वनजन्य गतिविधिलगायतका शिर्षकबाट रु पाँच करोड ८५ लाख ५० हजार १९० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले बताए।

वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले वन कर्मचारीको सक्रियताका कारण वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन तथा वन चोरी–तस्करी नियन्त्रणमा सफलता मिलेको बताए। वन संरक्षणसँगै अतिक्रमण नियन्त्रण, वृक्षरोपण र वन पैदावारको व्यवस्थित उपयोगलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ। :Onlinekhabar

लालबन्दी, २३ भदौ । सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नं. १० लाई नेपालको दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । यही भदौ २५ गते बिहीबार लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराए ।

वडाभित्र महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको वडा नम्बर १० का वडाध्यक्ष टोप बहादुर श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले वडाभित्र प्रत्येक घरपरिवारमा महिनावारी हुँदा विभेद र बार्नेक्रम रोकिएको पत्रकार सम्मेलनमा दाबी गरे ।

महिला महिनावारी हुँदा गरिने विभेद अन्त्यका लागि लागि वडा कार्यालयले विगत ३ वर्षदेखि राधा पौडेल फाउन्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको बताईएको छ । बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरेले महिनावारीसम्बन्धी पुरातन सोच र व्यवहार परिवर्तनका लागि भएका प्रयासबाट सकारात्मक परिणाम देखिए पनि विभेद पूर्ण रूपमा अन्त्य हुन बाँकी रहेको पत्रकार सम्मेलनमा बताइन् ।

उनका अनुसार वडामा मर्यादित महिनावारीसम्बन्धी समन्वय समिति गठन गरी संस्थागत संरचना निर्माण गरिएको छ। नीति तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउनुका साथै वडा कर्मचारी, सेवा प्रदायक र स्थानीय नेतृत्वको क्षमता अभिवृद्धि गरिएको छ।

विद्यालय तथा समुदायमा बाल क्लब, युवा समूह र महिला समूह परिचालन गरी तालिम, छलफल, अन्तरक्रिया तथा संवाद सञ्चालन गरिएको संस्थाले जनाएको छ। यस्ता कार्यक्रमबाट मर्यादित महिनावारीमैत्री घर, विद्यालय, समुदाय, स्वास्थ्य संस्था तथा वडा कार्यालय निर्माणमा सहयोग पुगेको जनाइएको छ।

स्वास्थ्य संस्थालाई महिनावारीमैत्री बनाउने, स्वास्थ्य सेवा तथा परामर्शमा पहुँच विस्तार गर्ने र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा जनचेतना पुर्‍याउने कामसमेत गरिएको छ। महिनावारी विभेदलाई मानव अधिकारको हनन तथा घरेलु हिंसासँग जोडेर हेर्ने दृष्टिकोण विकास गर्न समावेशी कार्यक्रम सञ्चालन गरिएको संस्थाको भनाइ छ।

कार्यक्रममा जेनजी शहीदको सम्झनामा दीपप्रज्ज्वलन समेत गरिएको थियो ।

लालबन्दी, २३ भदौ । बिभिन्न स्वास्थ्य समस्या तथा अन्य पिडामा परेकाहरुको सेवा गर्दै आएका समाजसेवी सन्तोष दाहालले लालबन्दीका ३ जनालाई ह्विल चेयर प्रदान गरेका छन । आज मंगलबार बिहान उनिहरुको घरमै पुगेर दाहालसहितका ब्यक्तिहरुले सहायता सामाग्री अर्थात ह्विल चेयर प्रदान गरेका हुन ।

शारिरिक समस्याका कारण हिँडडुल गर्न समस्या भएका उनिहरुलाई अर्का समाजसेवी समिर बराईलीको पहलमा सहायता सामाग्री प्रदान गरिएको हो । लालबन्दी ६ घर भएका प्रज्वल कार्कि, कर्णमाया विश्वकर्मा र अविनास विश्वकर्मालाई उनिहरुको घरमै पुगेर ह्विल चेयर प्रदान गरिएको समाजसेवी बराईलीले जानकारी दिए ।

दाहालले यस अघि पनि जटिल स्वास्थ्य समयस्या भएकादेखि अन्य सहयोग माग्नेसम्मलाई बिभिन्न खाले सहयोग गर्दै आईरहेका छन । सहयोग गर्ने स्वभावका कारण नै दाहाल यस क्षेत्रमा मनकारी ब्यक्तिका रुपमा परिचित छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।