लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको कैलाश किराना पसलमा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको भदौ ४ गते राति पसल भएको घरको भेन्टिलेटर फुटाएर पसलभित्र प्रवेश गरि नगद तथा अन्य समान चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानिय उमाशंकर साहले संचालन गरेको पसलको काउन्टरमा रहेको १० लाख रुपैँया र ३ हजार ६ सय रुपैयाँ पर्ने विभिन्न सामान र ३ बण्डल चुरोट चोरी भएको थियो । घट्नामा संलग्न लालबन्दी १४ का बर्ष ३७ का हिरालाल ब्लोन र बर्ष ४४ का चन्द्रे वाईबालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको अनुसन्धानका क्रममा पसलमा जडान गरिएको सीसीटीभी फुटेज तथा विभिन्न प्राविधिक माध्यम प्रयोग गरी प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–२३ बाट हिरालाल ब्लोनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार तथा वारदातमा प्रयोग गरिएको टी–सर्ट समेत बरामद गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबैलाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।