काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो ।
मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् । यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।
अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन ।
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुर पुलस्थित हुलाकी सडक खण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार २०८३ असोज ३० गते दिउँसो १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ बिएक्स ०४३५ को कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका-५ जिरोमाइल निवासी अन्दाजी २४ वर्षीय विकल साह गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि महोत्तरीस्थित जानकी एकेडेमी अस्पताल पुर्याइएकोमा दिउँसो १२:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, कारमा सवार गौशाला नगरपालिका-४ का करिब २२ वर्षीय शम्भुनाथ कुमार साह र सोही स्थानका अन्दाजी २३ वर्षीय शुभम कुमार शर्मा सामान्य घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।
दुर्घटना सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही । नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
यस्तै मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि गरिने चलन छ ।
षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भनिन्छ । ‘बेलनौत’ को शाब्दिक अर्थ बेललाई निम्ता दिनु हो ।
नवरात्रको छैठौँ दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर त्यही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मैथिल परम्परा छ ।
सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारी दिएपछि देवी पूर्ण सजिव बन्ने विश्वास गरिन्छ । त्यसपछि मात्र देवी प्रतिमा दर्शनका लागि खुला गरिन्छ ।
सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ । दशहारा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्तीबस्तीमा देवी प्रतिमा बनाइएका छन् ।
‘बेलनौत’ विधि सम्पन्न गर्न आज बिहानैदेखि यसक्षेत्रमा चहलपहल बढेको छ । पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् ।
यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल टिपेर ल्याइ देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।