सर्लाहीमा अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर

369
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

जिल्लामा केही दिनदेखि अत्यधिक चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

जिल्लामा आइतबारदेखि घाम लागेको छैन । जिल्लावासिले सोमवार बर्षकै चिसो महसुस गरेका छन । कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका अतिविपन्न परिवारलाई समस्या परेको छ ।

चिसोबाट बच्न धेरैले घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन । चिसो स्याँठले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समेत समस्या भएको छ ।

चिसोका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता समस्याका विरामी बढेका छन् । चिकित्सकहरूले चिसोबाट जोगिन शरीर न्यानो हुने गरी तातो कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे फुल बाहुले कपडा लगाउन, झोलिलो र तातो खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।

त्यस्तै अत्यधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन पनि मुस्किल परेको छ । चिसोका कारण जिल्लाका मुख्य बजारहरुमा मानिसको चहलपहल समेत घटेको छ ।

यस अघि जाडो मौसममा जिल्लाका स्थानिय तहले आगो ताप्न दाउराको ब्यवस्था गरिदिएका भएपनि यसबर्ष केहि बाहेकका पालीकाहरु मौन बसेका छन । अत्यधिक चिसो बढ्दा पनि स्थानिय तहले दाउराको ब्यवस्था नगरेको प्रति जिल्लावासिले गुनासो गरेका छन ।

यसैबिच केही दिन यता बढेको चिसो र शितलहरका कारण जनजीवन प्रभावित भएपछि हरिवन नगरपालिकाले नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । नगर विपद व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद मैनालीको अध्यक्षता तथा नगरप्रमुख मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख अतिथ्यतामा बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रको पुरानो बजार चोक, महादेव जनता मावि चोक, सगुन सहकारी अगाडि, पूर्व वसपार्कको प्रहरी बिट नजिक, स्वाभिमान अस्पताल अगाडि, मेघा बैंक अगाडि, कार्की पुस्तक पसल अगाडि आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

समितिको वैठकले नगरका अन्य स्थानमा पनि आवश्यकता अनुसार थप आगो ताप्ने व्यवस्था मिलाउँदै लगिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ ।