सर्लाहीमा तीन लाख ८७ हजार ६५९ जनाले लिए कोरोना बिरुद्धको पूर्ण डोज

187
Friendship Mobile

सर्लाही | कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन्। साथै‚ करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन्।

मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४ दशमलब २ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ। निर्देशनालयको तथ्यांकअनुसार सर्लाहीमा ५५ दशमलब ५, बारामा ४९ दशमलब ४, धनुषामा ४९ दशमलब १, पर्सामा ४३ दशमलब ८, सप्तरीमा ४२ दशमलब ७ प्रतिशत, सिरहामा ४० दशमलब ७, महोत्तरीमा ३५ दशमलब ४ र रौतहटमा ३४ दशमलब ७ प्रतिशत लक्षित नागरिकले खोपको पूर्ण डोज लगाएका छन्।

त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएको जानकारी दिए।

बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन्। त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९ दशमलब ५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन्। प्रदेशमा कुल ६३ लाख ४३ हजार ९७० जना जनसंख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात् ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन्।

प्रदेशमा क्ल जनसंख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ।

लक्ष्यअनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६० दशमलब ४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका भने ६७ दशमलब २ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।

पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जना रहेका छन्। त्यस्तै‚ सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन्। रासस/धनुषा