सर्लाहीमा २७ वर्षीय युवादेखि ८८ वर्षीय वृद्धसम्म उम्मेद्वार

6

हरिवन, २५ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही स्थित ४ वटा निर्वाचन क्षेत्रमा २६ राजनैतिक दलले ६१ जना उम्मेद्वार मैदानमा उतारेका छन् । ७१ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । दलहरुबाट उम्मेद्वार बन्नेमा २७ वर्षीय युवादेखि ८८ वर्षीय वृद्धसम्म रहेका छन् ।

पछिल्लो समय युवा पुस्तालाई प्राथमिकता दिने भनेर सबै राजनैतिक दलका नेताहरुले सार्वजनिक भाषणवाजी गर्दै आएका छन् । अझ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले त राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन सबै राजनैतिक दलहरुलाई दबाब पर्यो ।

यद्यपी चुनावमा उठाएका उम्मेद्वारहरुको उमेर हेर्ने हो भने दलहरुले युवा पुस्तालाई वेवास्ता गरेको स्पष्ट देखिन्छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट पछिल्लो समय स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ मा १८ देखि ३५ वर्ष उमेर समुहकालाई युवा भनिएको छ । जसअनुसार अधिकांश दलहरुले उठाएका उम्मेद्वारको उमेर हेर्ने हो भने युवा पुस्तालाई वेवास्ता गरेको देखिन्छ ।

मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयहरुले सार्वजनिक गरेको उम्मेद्वारहरुको अन्तिम नामाबली अनुसार ६१ जनामध्ये १० जना मात्र ३५ वर्षसम्मको युवा उमेर समुहका छन् । जुन कुल उम्मेद्वारको १६ प्रतिशत मात्र हो ।

त्यस्तै ३६ वर्षदेखि ५० वर्ष उमेरका २३ जना अर्थात ३८ प्रतिशत रहेका छन् । उमेर समुहका हिसाबले ५० वर्ष माथिबाट सबैभन्दा बढी २८ जनाको उम्मेद्वारी परेको छ । जुन कुल उम्मेद्वारीको ४६ प्रतिशत हो ।

दलहरुका तर्फबाट यस निर्वाचनमा सबैभन्दा कान्छा उम्मेद्वार क्षेत्र नं. ४ मा नेकपा एमालेबाट उठेका २७ वर्षे अमनिश कुमार यादव हुन् भने सबैभन्दा जेठा नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. २ मा उठेका पूर्व मन्त्री ८८ वर्षे महिन्द्र राय यादव हुन् । कान्छा उम्मेद्वार अमनिश २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र नं. ६ बाट निर्वाचित शिवपुजन रायका छोरा हुन् ।

क्षेत्र नं. १ मा १९ जना उम्मेद्वारमध्ये ३५ वर्षसम्मको उम्मेद्वारी संख्या ४ जना मात्र रहेको छ । जसमा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट कविलासीका विकास कुमार ठाकुर (३४), जनमत पार्टीबाट चन्द्रनगरका श्रीन्जय महतो (३४), श्रम संस्कृति पार्टीबाट लालबन्दीका सुमन हरि अधिकारी (३३) र राष्ट्रिय मुक्ति आन्दोलन, नेपालबाट लालबन्दीका टेक बहादुर श्रेष्ठ (३०) रहेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा १४ जना उम्मेद्वारमध्ये ३५ वर्षसम्मको उम्मेद्वारी संख्या ३ जना मात्र रहेको छ । त्यहाँ आम जनता पार्टीबाट ईश्वरपुरका चन्द्र भुषण साह (३३), नेपाल संघीय समाजवादी पार्टीबाट कौडेनाका रजी अहमद (३४) र नेपालका लागि नेपाली पार्टीबाट मलंगवाका कृष्ण यादव (२७) रहेका छन् ।

क्षेत्र नं. ३ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट हरिवनका सविउल शेष (३०) को मात्र उम्मेद्वारी परेको छ । क्षेत्र नं. ४ मा एमालेका अमनिश तथा नेकपाबाट गोडैताका रजनिस राय (३२) रहेका छन् ।