बागमतीका निलम्बित मेयरविरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

83

काठमाडौँ, ०४ फागुन । सर्लाहीको बागमती नगरपालिकाका तत्कालिन मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित भएको छ। साेमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा तोकिएको पेसी थापाको तर्फबाट कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध माछापोखरी निर्माणका नाममा ५६ करोड ७१ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

अख्तियारले बागमतीको वडा ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरी परेको खाल्डोमा माछापोखरी निर्माणका नाममा करोडौँ रकम सङ्घ र प्रदेशबाट माग गरी हिनामिना गरेको अभियोग छ ।

आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजय कुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले मेयर थापासहित बिमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजय कुमार, गोकुल भुजेल, लीला कुमारी मुक्तानलाई विपक्षी बनाएको छ । प्रतिवादीले माछापोखरी निर्माणको नाममा पोखरी समेतका गैरकानुनी संरचनाहरू निर्माण गरी साबिक वन ऐन, २०४९ एवं प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको भनी तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा आफैँले हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग छ । रातोपाटीबाट