एसइइको परीक्षा केन्द्रभित्र मोबाइल बरामद भए नष्ट गरिने

89

मलंगवा, १७ चैत । मधेश प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा केन्द्रबाट मोबाइल फोन बरामद भए फिर्ता नदिइने भएको छ ।

प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई जनकपुरमा बोलाएर मधेश प्रदेश सरकारले परीक्षा केन्द्रभित्र विद्यार्थीको साथबाट मोवाइल बरामद भए नष्ट गर्न निर्देशन दिएको हो । मधेशमा अघिल्ला वर्षहरुको एसइइमा परीक्षा केन्द्रबाट ठुलो मात्रामा मोवाइल फोन बरामद भएको थियो । बैठकमा आफूहरुलाई बोलाएर परीक्षामा हुन सक्ने अमर्यादित गतिविधि रोक्न मोवाइल फोन र अन्य विद्युतीय सामग्री पूर्णरुपमा निषेध गर्न निर्देशन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

यो वर्षको एसइइ चैत १९ गतेदेखि सुरु हुँदै छ । एसइइका लागि प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिकासहितका सामग्री पुगिसकेको छ ।

प्रश्नपत्रसमेत नजिकको प्रहरी कार्यालयमा धमाधम पु¥याउनेक्रम चलिरहेको छ । यो वर्षको एसइइमा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना परीक्षार्थी सहभागी हुन लागेका शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

एसइइ सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी नियुक्त भइसकेका छन् । ११ हजार ३७१ परीक्षार्थी सामेल हुने सर्लाहीमा पनि एसइइको तयारी लगभग पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका सूचना अधिकारी एवं शाखा अधिकृत सुनिलकुमार कुशवाहाले बताए ।

एसइइ सञ्चालन गर्न सर्लाही जिल्लाभर ३५ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।