सागरनाथ वन विकास परियोजनाको कर्मचारी समिति भंग
सर्लाही, १८ चैत । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठनको प्रारम्भिक कार्य समिति भंग गरिएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले शासकीय सुधारअन्तर्गत राजनीतिक ट्रेड युनियनहरू भंग गर्ने निर्णय गरेपछि समितिको बैठकले उक्त निर्णयको स्वागत गर्दै चैत्र १६ गतेदेखि लागु हुने गरी समिति भंग गरेको जनाएको हो ।
परियोजनाले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको सयबुँदे शासकीय सुधारसम्बन्धी कार्यसूचीमध्ये खण्ड ‘ख’ अन्तर्गत उल्लिखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता शीर्षकको बुँदा नं १२ मा उल्लेख भएबमोजिम दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरिएको थियो ।
सोही सरकारी निर्णयलाई स्वागत गर्दै वन परियोजना कर्मचारी संगठनको प्रारम्भिक कार्य समितिले मिति आजैबाट आफ्नो समिति भंग गरेको जनाएको हो ।
समितिका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरिसकेको छ ।
