मलंगवा, १० जेठ । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार मलङ्गवामा शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । महासंघका केन्द्रिय सदस्य राजेश कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा महासंघले प्रदान गर्दै आएको स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो । यस वर्षको उक्त पुरस्कारले पत्रकार श्रवण थापालाई सम्मानित गरिएको महासंघले जनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णले थापालाई प्रमाण पत्र, दोसल्ला र नगद १५ हजार ५५५ रुपैयाँले सम्मानित गरे । सर्लाहीलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका थापाले समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘‘स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार–२०८३’’ बाट सम्मान गरिएको शाखा अध्यक्ष ओम प्रकाश ठाकुरले जानकारी दिए ।
स्व.गजेन्द्र नारायण सिंहको सम्झनामा स्थापना गरिएको यस पुरस्कार शाखाले विगत तीन वर्ष देखी जिल्लाका सकृय पत्रकार छनोट गरेर वितरण गर्दै आएको छ । तत्कालिन मधेश प्रदेश प्रमुख राजेश अहिराजले प्रदान गरेको ५० हजारबाट स्थापना गरिएको अक्षयकोष र नेपाल पत्रकार महासंघ सर्लाही शाखाले व्यवस्थापन गरेको रकमबाट उक्त पुरस्कार राशी प्रदान गर्ने गरिएको शाखाले जनाएको हो ।
यस्तै साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक लामिछानेले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता तथा पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा महासङ्घले जोड दिएको बताए । उनले पत्रकारिता क्षेत्रलाई अझ मर्यादित, विश्वसनीय र जनउत्तरदायी बनाउन सम्पूर्ण पत्रकार एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।
पछिल्लो सरकारले लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निभाएको पत्रकारिता क्षेत्रलाई अवमूल्यन गरेर अघिबढेको उनको आरोप थियो । कार्यक्रममा अर्का वक्ता नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले स्वतन्त्र पत्रकारिता विनाको लोकतन्त्र कल्पना गर्न समेत नसकिने बताए । राज्यको पत्रकारिता र सञ्चार माध्यमलाई घेराबन्दीमा पार्ने काम गरेको उनको आरोप थियो ।
त्यस विरुद्ध अहिले सिङ्गो महासङ्घ सङ्घर्षरत रहेको भन्दै यस तर्फ बेलैमा ध्यान दिन समेत उनले सरकार सँग माग गरे । कार्यक्रममा महासङ्घको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना माथि विस्तृत छलफल गरिएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा मधेस प्रदेश महासचिव शैलेन्द्र महतोको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको महासंघ सर्लाहीले जनाएको हो ।
यस्तै कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष चुडामणि वाग्ले, कृष्णकुमार इस्माली, रोशन न्यौपाने, विश्वनाथ ठाकुर, टंकबहादुर क्षेत्री लगायत जिल्लाका अधिकांस सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।









