मलंगवा, १४ भदौ | यहि भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तह (पालिका) को कार्यालयमार्फत मार्फत राहत सङ्कलन गरिने भएको छ ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीपछि रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाका लागि राहत सङ्कलन गर्ने निर्णय गरेको हो । पीडितका लागि राहतस्वरुप नगद तथा वस्तुगत (चामल, दाल, पिठो, कपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टाबेल, बाल्टी, जग, शुद्ध खानेपानीलगायत सङ्कलन गर्ने निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रका लागि स्वेच्छाले सहयोग गर्न चाहने सङ्घसंस्था, निजी क्षेत्र, नागरिक समाज, उद्योगी, व्यवसायी र सम्पूर्ण जनसमुदायलाई नगद तथा वस्तुगत राहत सामग्री आ–आफ्नो पालिकाको कार्यालयमा उपलब्ध गराइदिन बैठकमार्फत आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार भदौ १७ गतेसम्म राहत सङ्कलन गरेर १८ गते प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले राहत सङ्कलन प्रणालीलाई पालिकामार्फत एकद्धार बनाउने, बर्खाको बेला सर्लाहीमा समेत आइपर्न सक्ने डुबान, कटान र बाढीबाट राजमार्ग अवरुद्ध हुनेसक्ने विषयमा पालिका, निर्माण व्यवासी सबै सजग भइ औजार तथा सवारी साधन तयारी हालतमा राख्ने निर्णय गरिएको छ ।
बैठकमा सर्लाही २ का प्रतिनिधि सभा सदस्य रवीन महतो, पालिकाका प्रमुखहरु, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति रहेको थियो ।

भोटेकोशी नदी बाढी पीडितका लागि सहयोगस्वरुप सर्लाहीमा अहिले व्यक्तिगत तथा संस्थागतरुपमा प्रधानमन्त्री राहत कोषको बैङ्क खातामा क्यूआर गरेर रकम जम्मा गर्नेक्रम चलिरहेको छ ।











